२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

कैलालीमा १७ वर्षीया किशोरीको हत्या

सत्यपाटीसत्यपाटी । कैलाली । २०८२ साउन १७ गते शनिबार

कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजवालको आज बिहान चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । बर्दगोरिया गाउँपालिका–३ घर भएकी उनी राजधानी सेकुवा एण्ड मःम सेन्टरमा काम गर्दै आएकी थिइन् ।

सेजवाललाई सोही सेकुवा सेन्टरमा काम गर्ने युवकले चक्क हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार शनिबार बिहान १० बजेतिर सेजवाललाई बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले चक्कु हानेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए । सेजवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ ।

उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा दुवैजना सोही होटलमा काम गर्ने गरेको खुलेको छ । हत्याको कारणबारे भने अझै खुल्न सकेको छैन र हत्याको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार