बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जले उल्लेखनीय सफलता हासिल गरेको छ । बाँकेमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएकाले बाघ संरक्षणसँगै सो द्वन्द्व पनि न्यूनीकरण गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दा निकुञ्जले सफलता हासिल गरेको हो ।
बाघ संरक्षणसँगै बाघ लगायतका अन्य जनावरलाई मानव बस्तीमा छिर्न नदिन निकुञ्जले बाहै्र महिना पानी पाइने सोलारसहितका पोखरी निर्माण, आहाराजन्य प्रजातिको सङ्ख्या बढाउन घाँसे मैदानको विस्तार, वासस्थान व्यवस्थापन र जोखिममा रहेका गाउँबस्ती छेउमा तारजालीको निर्माणमा विशेष जोड दिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले गत केही वर्षको अवधिमा बाँकेमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएकाले बाघ संरक्षणसँगै सो द्वन्द्व पनि न्यूनीकरण गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दा सफलता मिलेको बताए ।
उनले भने, ‘बाघको संरक्षणसँगै बाघलाई गाउँबस्ती वा राजमार्गनजिक जान नदिन निकुञ्जभित्र घाँसे मैदान विस्तार गरेर आहाराजन्य प्रजातिको सङ्ख्या बढायौँ, पानीको विशेष व्यवस्था गर्यौँ र मानवबस्ती छेउमा तारजालीसमेत जडान गर्यौँ । यी कार्यले गर्दा मानव–वन्यजन्तु द्वन्द्व एकदमै घटेको छ ।’
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलका अनुसार आहाराजन्य प्रजातिका लागि ४५० हेक्टरमा घाँसे मैदान विस्तार गरिएको छ भने बाहै्र महिना २४ सै घण्टा पानीको व्यवस्थाका लागि २५ वटा सोलार र मोटरसहितका पानीपोखरी निर्माण गरिएको छ । सोही प्रकारले वन्यजन्तु छिर्ने जोखिम रहेका गाउँबस्ती छेउमा गत आर्थिक वर्षमा मात्रै १० किलोमिटर क्षेत्रमा तारजाली जडान गरिएको छ ।
पानीको व्यवस्थापनका लागि हरेक पाँच किलोमिटरको दुरीमा पोखरीको निर्माण वा व्यवस्थापन गरिएको छ । महेन्द्र राजमार्गको दुवैतर्फ १० देखि २५ मिटरसम्मको जङ्गल तथा झाडी सफा गरेर वन्यजन्तुलाई दुर्घटनाबाट जोगाउनुका साथै आगलागी हुने जोखिम र सरसफाइको पनि व्यवस्थापन गरिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने उद्देश्यले मध्यवर्ती क्षेत्रका स्थानीयलाई वनजङ्गलमा जानबाट रोक्न वैकल्पिक ऊर्जामा जोड दिएर गोबरग्यास जडान, सोलार जडानलगायत इन्डक्सन चुलोसमेत वितरण गरिएको छ । गाभर भ्याली होमस्टेका सञ्चालक कृष्ण चौधरीले पछिल्लो समयमा निकुञ्ज व्यवस्थापनले गरेका विभिन्न कार्यले गर्दा जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व एकदमै घटेको बताए ।
उनले सोही कारणले विभिन्न घटना दुर्घटना कम हुनुका साथै पर्यटक सङ्ख्या पनि वृद्धि हुँदै गएको बताए । विगतमा पानी र आहाराको खोजीमा हिँडेका बाघ लगायतका जङ्गली जनावर मध्यवर्ती क्षेत्रका बस्ती र पूर्वपश्चिम राजमार्गसम्म पुग्दा दुर्घटना लगायत मानव–वन्यजन्तु द्वन्द्वसमेत हुने गरेको थियो ।
२०७९ सालको सर्भेक्षण अनुसार बाँके राष्ट्रि«य निकुञ्जमा २५ वयस्क बाघ रहेका छन् । यस्तै स्तनधारी वन्यजन्तु ३४, चरा २७६, सरीसृप २४, उभयचर नौ र माछा ५५ गरी ४२२ प्रजाति रहेका छन् । विसं २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्ज विमानस्थलबाट १६ किलोमिटरको दुरीमा रहेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ ।
सत्यपाटी