२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

गाजामा गहिरियो मानवीय सङ्कट

गाजा सहरमा इजरायली सेनाको आक्रमणका कारण राहत सामग्री प्राप्त गर्न पर्खिरहेका सयौँ प्यालेस्टिनी नागरिकको ज्यान गएको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले जनाएको छ ।

रिपोर्ट अनुसार, मे २७ सन् २०२५ यता मात्र करिब एक हजार ३७३ जना नागरिक मारिएका छन्, जसमा ८५९ जना अमेरिका समर्थित राहत केन्द्रको वरिपरि र ५१४ जना सहायता गाडी चल्ने बाटोमा मारिएका हुन् । यीमध्ये अधिकांश युवा र बालक छन्, जो आफ्ना परिवारलाई भोकमरीबाट बचाउन संघर्षरत थिए ।

मानवीय अधिकार संस्थाहरूले इजरायली सेनामाथि भोकलाई युद्धको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्, भने राहत वितरण केन्द्रहरूमा दिनहुँजसो हुने हिंसाले गम्भीर मानवीय संकट सिर्जना गरेको उल्लेख गरिएको छ ।

यता, इजरायली सुरक्षाकर्मीहरूले राहत केन्द्रमा आफ्नो उपस्थिति वितरण सहज बनाउनका लागि मात्र भएको दाबी गरेका छन् । गाजाको अवस्था गम्भीर बन्दै जाँदा, अमेरिकी दूत स्टिभ विटकोफ र जर्मन विदेशमन्त्रीको इजरायली प्रधानमन्त्रीसँगको भेटमा बन्धकको सकुशल उद्धार र राहत पु–याउनुपर्ने आग्रह पनि गरिएको छ ।

बाइस महिनादेखिको इजरायल–गाजा द्वन्द्वमा हालसम्म ६० हजारभन्दा बढी गाजावासीको मृत्यु भइसकेको जनाइएको छ र अहिले भने भोककै कारण मृत्यु हुन थालेको संयुक्त राष्ट्रसंघका निकायहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार