२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

खडेरीले आक्रान्त मधेशमा भारी वर्षा, किसानलाई राहत

सत्यपाटीसत्यपाटी । मधेश । २०८२ साउन १७ गते शनिबार

शनिबार मधेश प्रदेशका केही जिल्लाहरुमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मधेशका केही जिल्लाहरुमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्खाको समयमा लामो समयसम्म वर्षा नभएपछि मधेश प्रदेशलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

शनिबार बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर वर्षा भएको छ । धनुषाकै हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको महाशाले जनाएको छ । यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई मौसम विज्ञानमा भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा भएको मानिन्छ ।

यसैगरी, महाशाखाले मधेश प्रदेशका अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ । सर्लाहीमा ३७.६, महोत्तरीको गौशाला स्टेशनमा ३२.४ मिलिमिटर वर्षा भएको छ भने सिरहा र सप्तरीमा भने वर्षा कम भएको छ । आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतिर (नेपालतिर) सर्ने क्रममा रहेकाले थप वर्षा हुने सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ । यसैगरी, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा शनिबार भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार