म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबरे खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा छन् । ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपंक्षी फार्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबरे खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा छन् ।
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–९ बनौका निर्मल पुन पनि फार्ममा फलेको अकबरे खुर्सानी बेच्न बेनी, बागलुङ र कुश्मा बजारमा भौतारिरहेका हुन् । शिवाङका ओमराज र बनौका निर्मलको जस्तै बजार अभाव अकबर खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ ।
बनौँ, शिवाङ र बेनी नगरपालिका–३ भकिम्लीमा अकबर खुुर्सानीको व्यावसायिक खेती भएको छ । ‘गत वर्ष परीक्षणका लागि लगाएको ९० वटा बिरुवाको अकबर बेचेर रु ३० हजार आम्दानी भएपछि यसपाली छ रोपनीमा १२ हजार बिरुवा लगाएको छु,’ उनले भने, ‘स्थानीय बजार सानो छ । खपत थोरै हुुन्छ । धेरै खपत हुने ठूला सहरका व्यापारी र अचार उद्योग सञ्चालकसँग सम्पर्क नहुँदा समस्या भएको छ ।’
यस क्षेत्रमा यसअघि व्यावसायिक अकबरे खुर्सानीखेती भएका थिएन । घरायसी उपभोगका लागि मात्र अकबरे खुर्सानीखेती गरेका थिए । बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पूर्वी पहाडी जिल्लाबाट अकबरे खुर्सानी आयात हुने गर्छ । आयातित खुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्नुपर्ने अर्को समस्या रहेको छ ।
स्थानीय किसानहरूले रासायनिक मल र विषादीको विकल्पमा जैविक विधिबाट खुर्सानीखेती गरेका छन् । रोग र किराबाट बचाउन खिर्राको पात, तितेपाती, गाईभैंसीको गहुँतको प्रयोगका साथै झार उम्रिन नदिन ‘मल्चिङ’ प्रविधि प्रयोग गरेका छन् । खुर्सानीको बोटभन्दा अन्य भागको जमिनमा झार पलाउन नदिन प्लास्टिकले छोपेर मल्चिङ गरिएको हो ।
प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने किसान ओमराजले बताए । स्थानीय बजारमा अकबरे खुर्सानीको मूल्य प्रतिकिलो रु २५० देखि रु ३०० छ । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबर खुर्सानीखेती गर्न सकिन्छ ।
तरकारी, दाल, अचारमा ताजा खुर्सानीको प्रयोग हुन्छ । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले अकबर खुुर्सानीको बजारीकरणका लागि स्थानीय व्यापारीका साथै पोखरा, काठमाडौँका बजार र अचार उद्योगीलाई कृषकको सम्पर्कमा ल्याउन पहल गरिरहेको बताए । खुुर्सानीखेतीका लागि मल्चिङ, खनजोत गर्ने उपकरण र रोगकिरा नियन्त्रणका लागि परामर्शका साथै प्राविधिक सहयोग गरेको उनले बताए ।
सत्यपाटी