२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

क्वालिटी फुड्सको ‘बुलेट चाउचाउ’ गुणस्तरहीन भेटिएपछि…

सत्यपाटीसत्यपाटी । विराटनगर । २०८२ साउन १७ गते शनिबार

‘बुलेट’ ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ । उद्योगी विपिन काबराको स्वामित्वमा रहेको मोरङको कटहरीस्थित क्वालिटी थाई फुड प्राइभेट लिमिटेडले उत्पादन गरेको बुलेट चाउचाउको गुणस्तर कम भएपछि खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको थियो ।

सो उजुरीको अन्तिम किनारा लगाउँदै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको इजलासले उद्योगका क्वालिटी कन्ट्रोल म्यानेजर पुजन कोइरालालाई दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूलीस्थित सूर्यकुमार श्रेष्ठको एस.के.स्टोर्सबाट नमुना सङ्कलन गरेको थियो ।

विभागको टोलीले त्यहाँ बिक्रीका लागि राखिएको ६० ग्राम तौलको ‘बुलेट’ चाउचाउको पाँच थान नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाएको थियो । एक्सट्रयाक्टेड फ्याट एसिड भ्यालु मापदण्डअनुसार १.० मात्रा भन्दा बढी हुनुहुँदैन । तर, बुलेट चाउचाउमा यो ७.५ भेटिएको थियो, जुन मापदण्डभन्दा साढे सात गुणा बढी हो । यस्तै पेरोक्साइड भ्यालुको मापदण्ड १०.० भन्दा बढी हुनु हुँदैन, तर, चाउचाउको नमुनामा यो ३४.९ पाइएको थियो, जुन तोकिएको मापदण्डभन्दा लगभग साढे तीन गुणा बढी हो ।

खाद्य विज्ञहरूका अनुसार यी दुवै तत्व तेल र चिल्लो पदार्थ बासी वा कमसल हुँदा उत्पादन हुन्छन् र यिनले शरीरमा अक्सिडेटिभ स्ट्रेस बढाउने, क्यान्सरजस्ता दीर्घकालीन रोगलाई बढावा दिने र पाचन प्रणालीमा गम्भीर असर पार्न सक्छन् । यस्तो विषाक्त रसायनयुक्त खाद्यवस्तु उत्पादन र बिक्री गर्नु कानुनी रूपमा गम्भीर अपराध हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको कार्यक्षेत्रभित्र उद्योग पर्ने भएकाले विभागले कारबाहीका लागि सक्कल मिसिल विराटनगर पठाएको थियो ।

गत माघ २८ गते खाद्य निरीक्षण अधिकारी विरेन्द्र कुमार दासलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु गरियो । चैत ७ गते खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४० (च) बमोजिम न्यून गुणस्तरको खाद्य उत्पादन गरेको अपराधमा जिल्ला प्रशासन कार्यालय, मोरङमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२(घ) अनुसार ६ महिनासम्म कैद वा ६ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजायको माग दाबी गर्न राय दिएको थियो ।

विपिन काबराको स्वामित्वमा रहेको क्वालिटी समूहका उत्पादनहरू गुणस्तरहीन भेटिएको यो पहिलो पटक होइन । यसअघि पनि यसै समूहको क्वालिटी आयल प्रालिद्वारा उत्पादित ‘सूर्यमुखी’ तेलमा गुणस्तर मापदण्ड नपुगेको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा चलिरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पप्पुलाल राईले गत असार ५ मा सङ्कलित सूर्यमुखी तेलको नमुना परीक्षणमा कैफियत भेटिएपछि मुद्दा दायर गरिएको र त्यो हाल विचाराधीन अवस्थामा रहेको पुष्टि गरे । यसअघि क्वालिटी आयलले उत्पादन गरेको तेलको गुणस्तरमा प्रश्न उठाउँदै काठमाडौँ महानगरपालिकाले १० लाख रुपैयाँ जरिबानासमेत गरिसकेको छ ।

बारम्बार आफ्ना उत्पादन गुणस्तरहीन भेटिँदासमेत काबरा समूहले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले चालु आर्थिक वर्षमा मात्रै क्वालिटी समूहसहित १० वटा उद्योगमाथि गुणस्तरहीन उत्पादनको अभियोगमा मुद्दा दायर गरेको छ । कारबाहीको दायरामा आएका अन्य उद्योगहरूमा दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्स (चिया), सूर्योदय मिल्क एण्ड बेभरेज इन्डस्ट्री (स्किम्ड मिल्क पाउडर), गंगा पेय जल उद्योग (पानी), खेतान चिया उद्योग, गोमती फुड्स, निधि फुड उद्योग र मकालु एक्वा इन्डस्ट्री छन् ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार