हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ, जसका कारण अधिकांश भू–भागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहँदा मनसुनी गतिविधि बढेको हो ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
विशेषगरी, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर मौसम बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । भारी वर्षाको सम्भावना रहेका प्रदेशहरूमा भू–क्षय, बाढी तथा गेग्रान बहावको जोखिम बढ्ने देखिएको छ । सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा हुन सक्ने तथा ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने भएकाले महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विगत २४ घण्टामा पनि देशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । काठमाडौं उपत्यकासहित कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ । आगामी दिनमा पनि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले सबैले मौसमसम्बन्धी सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउनु महत्त्वपूर्ण छ ।
सत्यपाटी