२०८२ साउन १७ गते शनिवार, २ अगस्ट २०२५ । श्रावण शुक्लपक्ष अष्टमी तिथि, प्रातः ६ः०१ बजेपछि नवमी । विशाखा नक्षत्र । चन्द्रराशि तुला ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन मनोरञ्जनपूर्ण रहनेछ । आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । मेहनतका साथै गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । अरूको विश्वास गर्दा धोका हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । धेरै फाइदा नहुने काममा समय बित्नेछ । नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । बोलीको प्रभाव बढ्नेछ भने लेखन र अभिव्यक्ति कलामा निखारता ल्याउने समय छ । मेहनतले सम्मानित स्थान दिलाउन सक्छ । मान–सम्मान प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मनग्य धन आर्जन गर्न सकिनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आकस्मिक कामले खर्च बढाउन सक्छ । सञ्चित रकम अरूलाई सापट दिनुपर्ने हुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । अरूलाई समय दिँदा आफू पछि परिनेछ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन पनि सकिनेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । दिगो काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ । व्यापारमा अड्किएको रकम उठ्नेछ । विभिन्न भौतिक साधन प्राप्तिको योग छ । भविष्यका लागि केही लगानी बढाउन सकिनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा फाइदा हुनेछ । पछिका लागि अवसर खोजी गर्ने समय छ । व्यापार बढ्नेछ भने पेसा–व्यवसायमा आम्दानी प्रशस्तै हुनेछ । नाम र दाम हातपार्ने समय छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । नयाँ उपलब्धिको स्रोत पहिचान गर्न सकिनेछ । आँटले दिगो फाइदा उठाउन सकिनेछ । नाम, दाम र इनाम हातलागी हुनेछ । भविष्यका लागि काममा जग बसाउने मौका छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ । समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ । मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ । सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ । तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला । पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला । स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ । महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
सत्यपाटी