२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

घट्दै कोदो खेती, वनमारा र बोकेझारले भरिँदै बारी

सत्यपाटीसत्यपाटी । पाल्पा । २०८२ साउन १६ गते शुक्रबार

एक दशक अघिसम्म यहाँका ग्रामीण भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो । बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो । तर अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको छ । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले बाँझिँदै गएका छन् । कोदोको महत्त्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ ।

दश वर्ष अघिसम्म यहाँको बगनासकाली गाउँपालिका खानीगाउँका कमल गैरेको बारीमा झण्डै तीन मुरी कोदो फल्थ्यो । काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले छाडेका छन् । गैरेले कोदोखेती गर्दै आएको जग्गा वनमारा र बोकेझारले भरिएको छ । छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने कोही नभएको गैरेले बताए ।

रैनादेवी छहराका मानबहादुर कार्की पनि धेरै कोदो उत्पादन गर्ने किसान हुन् । तर उनले पनि पछिल्लो वर्षमा लगाउन छाडेका छन् । केही वर्ष अघिसम्म पनि बगनासकाली, रैनादेवी छहरा लगायत जिल्लाका अन्य किसानको मुख्य बाली कोदो थियो । युवाहरू विदेश र सहरतिर, गाउँमा बूढाबुढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको सङ्ख्या हरेक वर्ष घट्दो छ ।

अर्कोतर्फ यस्ता रैथानेबाली प्रवद्र्धनमा सरकारी अनुदान नहुँदा पनि किसानको आकर्षण हुन सकेको छैन । स्थानीय, प्रदेश र सङ्घीय सरकारले रैथानेबाली प्रवद्र्धन गर्न भन्दै कार्यक्रम ल्याए पनि कागजमै सीमित हुँदा जिल्लामा कोदोखेती विस्तार हुन सकेको छैन । यहाँको दुई वर्षको तथ्याङ्क हेर्ने हो भने पनि कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ ।

यहाँ आर्थिक वर्ष २०८०–०८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएको थियो । जुन आर्थिक वर्ष २०८१–०८२ मा आएर दुई हजार ३४९ हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताए । उनका अनुसार किसान सुन्तला जातका फलफूलतर्फ आकर्षित हुँदै गएपछि कोदो खेती हुने क्षेत्रफल घट्दै गएको हो ।

कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ । क्षेत्रफल घट्दै गए पनि उत्पादनमा भने वृद्धि हुने गरेको प्राविधिक पाण्डेयले बताए । जिल्लामा आर्थिक वर्ष २०८०–०८१ मा तीन हजार १०१ दशमलव ४२ मेट्रिक टन कोदो उत्पादन भएकोमा २०८१–०८२ मा आएर तीन हजार एक सय २४ दशमलव १७ मेट्रिक टन उत्पादन भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ० दशमलव ७३ प्रतिशतले उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयले बताए । उनका अनुसार अघिल्लो वर्ष एक दशमलव ३१ मेट्रिक टनप्रति हेक्टर र गत वर्ष एक दशमलव ३३ मेट्रिक टनप्रति हेक्टर उत्पादकत्व भएको हो । कोदोखेती गर्ने केही किसानले प्राविधिक ज्ञान हासिल गरेकै कारण उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयको भनाइ छ ।

विशेष गरी जिल्लाका निस्दी, पूर्वखोला, बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँमा कोदोखेती हुने गरेको छ । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायः जसो जिल्लाका सबै गाउँ बस्तीमा हुन्थ्यो तर आजभोलि सबै हराए ।

खाद्यान्नका लागि आटो, ढिँडो, रोटीका रूपमा प्रयोग गरिन्थ्यो तर आजभोलि त्यही कोदोलाई मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा कोदोखेती हराउँदै जान थालेपछि सरकारले राष्ट्रिय कोदो दिवस मनाउन थालेको छ । गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेसँगै आज दिवस मनाइँदै छ ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार