२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

अबदेखि ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष कायम

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १६ गते शुक्रबार

सवारी चालक अनुमति पत्र (लाइसेन्स) अब १० वर्षसम्म मान्य हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्दै लाइसेन्स जारी भएको मितिले १० वर्षसम्म म्याद कायम रहने व्यवस्था गरेको हो ।

यसअघि लाइसेन्सको म्याद पाँच वर्षमात्र हुने प्रावधान थियो । सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा रहेको पाँच वर्षे अवधिलाई बढाएर १० वर्ष पुर्याएको छ भने सवारीको जाँचपास (फिटनेस प्रमाणपत्र) अवधि पनि परिमार्जन गरिएको छ ।

संशोधित प्रावधान अनुसार, नयाँ दर्ता भएका सवारीका लागि जाँचपास प्रमाणपत्रको म्याद पाँच वर्ष हुनेछ । अन्य सवारीका हकमा भने प्रमाणपत्रको म्याद छ महिनासम्म मान्य हुनेछ । नयाँ व्यवस्था अनुसार प्रदूषण परीक्षण र जाँचपासका लागि निजी क्षेत्रलाई समेत अनुमति दिने व्यवस्था गरिएको छ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) मा रहेको ‘पाँच वर्षसम्म’ भन्ने शब्दको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्द राखिएको छ । त्यसैगरी, ऐनको दफा ५६ को उपदफा (३) मा रहेको नवीकरणपछिको अवधिलाई जनाउने ‘पाँच वर्षसम्मको’ भन्ने शब्दलाई पनि ‘दश वर्षसम्मको’ बनाइएको छ ।

नयाँ व्यवस्थासँगै अब जारी हुने नयाँ लाइसेन्स र नवीकरण गरिने लाइसेन्स दुवैको अवधि १० वर्षको हुनेछ । यो व्यवस्थाले अब चालकहरूले पाँच–पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । यसले यातायात कार्यालयमा हुने भीडभाड कम गर्न र सेवाग्राहीलाई सहज बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार