२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

मनसुनमा सुपर फुड, ‘के खाने, के नखाने ?’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १६ गते शुक्रबार

मुसलधारे वर्षाले गर्मीबाट राहत दिन सक्छ । तर, यो मौसममा धेरै रोगहरू पनि सँगसँगै आउँछन् । हावामा बढेको आद्र्रता र तापक्रममा उतारचढावका कारण यस समयमा भाइरल ज्वरो, चिसो, पेट दुख्ने, खानामा विषाक्तताजस्ता समस्या सामान्यजस्तै हुन्छन् ।

यसको वास्तविक कारण मानव शरीरमा कमजोर रोग प्रतिरोधात्मक क्षमता हो । यदि समयमै खानामा ध्यान दिइएन भने सानो संक्रमण पनि ठूलो समस्या बन्न सक्छ । त्यसैले, यो मौसममा तपाईंले त्यस्तो चीज खानु महत्त्वपूर्ण छ, जुन प्राकृतिक र पचाउन सजिलो हुन्छ अनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।

मनसुनमा तापक्रम घट्ने र बढ्दो आद्र्रताका कारण शरीरको मेटाबोलिजम सुस्त हुन्छ । अर्थात्, खाना पचाउने गति घट्छ । फलस्वरूप, शरीरलाई चाहिनेजति ऊर्जा मिल्दैन । त्यसबाट थकान, भारीपन, ग्यास, अपच र भोक नलाग्नेजस्ता समस्याहरू निम्तिन्छन् । कमजोर मेटाबोलिजमको सीधा असर प्रतिरक्षा प्रणालीमा पर्छ, जसकारण शरीर चाँडै संक्रमणले घेरिन सक्छ ।

साथै, यस मौसममा ब्याक्टेरिया र भाइरसहरू द्रुत गतिमा बढ्छन्, जसले सजिलै संक्रमण फैलाउँछन् । प्रतिरक्षा प्रणाली कमजोर हुँदा थोरै लापरवाहीले पनि चिसो, ज्वरो, खोकी, घाँटी दुख्ने वा छालाको एलर्जीजस्ता समस्याहरू चाँडै देखा पर्छन् । त्यसैले, मनसुनमा रोग प्रतिरोधात्मक क्षमता बढाउन केही फलफूल, तरकारी, अन्न, दाल र बदामहरूको सेवन उपयुक्त हुन्छ ।

तिनीहरूमा आवश्यक भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट र फाइबर हुन्छ । यसले शरीरलाई भित्रबाट शक्ति दिन्छ र रोगहरूसँग लड्ने क्षमता बढाउँछ । दैनिक आहारमा समावेश गर्नाले पाचन राम्रो मात्र हुँदैन, मौसम परिवर्तनका कारण हुने चिसो, ज्वरो र पेटको समस्याबाट पनि बचाउँछ । अम्बा, मेवा, जामुन, स्याउ र आँपले मनसुनमा शरीर स्वस्थ राख्न मद्दत गर्छन् । यस्तै, लौका र मकैको सेवन पनि उपयुक्त हुन्छ ।

ओट्स, मुङ र चनाको दालले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन् । बदाम, ओखर, फर्सीका दाना, आलस पनि यस मौसमका सुपर फुड हुन् । तर, सडक किनारमा बिक्रीमा राखिएका तारेका खानेकुरा, मुला जुस, चाट र पानीपुरी, खुलामा राखिएका फलफूल, बासी खानेकुरा, अति मसला प्रयोग गरिएका खानेकुरा, खुलामा बिक्रीमा राखिएका नन–भेज र फ्रोजन र अल्ट्रा प्रोसेस्ड फुड हानीकारक हुन सक्छन् ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार