देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जसका कारण देशका केही भागमा आज दिउँसो मध्यमदेखि भारी वर्षाको सम्भावना छ । देशको पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ । भोलिबाट भने देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।
कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । ‘काठमाडौंमा आज वर्षाको सम्भावना छ । दिउँसो र राति नै वर्षा हुनेछ,’ मौसमविद् सञ्जिव अधिकारी भन्छन्, ‘राति वर्षा भएकाले बिहान भने काठमाडौंमा खुल्नेछ । तर, करिब १२ बजेपछि वर्षा हुने सम्भावना छ ।’
उनका अनुसार काठमाडौंमा भारी वर्षाको सम्भावना छैन । वाग्मती प्रदेशको सिन्धुपाल्चोक र दोलखाका तिरका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको उनले जानकारी दिए । विभागले राति केही स्थानमा भारी वर्षा हुने बताएको छ । राति देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानमा तथा बाँकी तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ । मौसमविद् अधिकारीका अनुसार भोलिबाट भने मनसुनी प्रणाली थप सक्रिय हुने पर्वानुमान छ । ‘भोलिदेखि आगामी दिन अहिलेको तुलनामा धेरै वर्षा हुने देखिन्छ,’ मौसमविद् अधिकारी भन्छन्, ‘यो अवधीमा विभागले भारी वर्षा हुने पूर्वानुमान गरेको छ । धेरै भारी वर्षा हुने सम्भावना पनि हुन सक्छ ।’
यो पटक अहिलेसम्म धेरै वर्षा नभएका क्षेत्रमा पनि वर्षा हुने पूर्वानुमान छ । मधेस र लुम्बिनी प्रदेशका दक्षिणी इलाकामा वर्षा नहुँदा खडेरी लागेको छ । यी क्षेत्रमा पनि यो पटक वर्षा हुने पूर्वानुमान गरिएको मौसमविद् अधिकारी बताउँछन् । यी क्षेत्रमा पानी नपर्दा अहिलेसम्म धान रोपाईं हुन सकेको छैन । रोपाईं भएका खेत पनि सुकेर रोपो मर्न थालेको छ । सरकारले तराईलाई सुक्खाग्रस्थ क्षेत्र घोषणा गरेको छ ।
सत्यपाटी