नेपालको तराई क्षेत्र देशकै अन्न भण्डार मानिन्छ । तर अहिले पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन, रोपाइँ भएको खेतमा पनि धाँजा फाट्न थालेको छ । पानीको अभावले किसानहरू चिन्तित छन् भने अन्न उत्पादनमा ठूलै असर पर्ने जोखिम देखिएको छ । नेपालको पूर्वीतराई मात्रै होइन्, मध्य तराईमा समेत सिचाइँको चरम संकट देखिएको छ ।
आकाशे पानीकै भर परेका रुपन्देहीका किसानहरुका लागि लामो समयदेखि वर्षा हुन नसक्दा चिन्ता थपिदिएको हो । भूमिगत जलको प्रयोग गरि जेनतेन रोपाई गरेका किसानहरुका लागि अहिले त्यो बिउलाई नै जोगाउन चुनौती देखिएको छ । खेतमा चिरा पर्न थालेका छन् भने रोएिका धानका कलिला बिउ सुक्न थालेका हुन् ।
अझै केही दिन वर्षा नभए कृषि उत्पादनमा निकै असर पर्ने किसानहरुको चिन्ता छ । विशेषगरी धान रोपाइँ पछिको यो महत्वपूर्ण समयमा पानीको अभावले किसानहरूले चरम सास्ती भोगिरहेका छन् । सिँचाइ सुविधाको पहुँच नभएका किसानहरूको अवस्था झनै नाजुक छ । सिचाइ अभावले यस वर्ष कृषि उत्पादनमा गिरावट आउने निश्चितप्रायः छ, जसको प्रत्यक्ष मार किसान र समग्र अर्थतन्त्रमा पर्नेछ ।
नदीहरूमा पानीको बहाव घट्दा र भूमिगत जलस्तरमा कमी आउँदा कतिपय सिचाइँ नहर नै जीर्ण हुन थालेको किसानहरूले बताउन थालेका छन् । सिँचाइको अभावमा बालीहरू सुक्न थालेकाले किसानहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको हो । खडेरी प्रभावित किसानहरूलाई तत्काल राहत प्याकेज घोषणा गर्न, सिँचाइको वैकल्पिक व्यवस्था मिलाउन र कृषि ऋणमा सहुलियत दिन किसानले सरकारसँग आग्रह गरिरहेका छन् ।
अहिले सबैभन्दा बढी खडेरीले मधेस आक्रान्त छ । सर्लाही लगायतका जिल्लामा अधिकांश खेतमा यस वर्ष धान रोपाइँ हुन सकेको छैन । खडेरीका कारण धान रोपाइँ नहुदा किसान चिन्तित बनेका छन् । सामान्यतया असारको दोस्रो सातासम्म रोपाइँ सम्पन्न हुने सर्लाहीका अधिकांश क्षेत्रमा यो वर्ष साउनको दोस्रो सातासम्म पनि खेत सुक्खा देखिन्छन् । अब किसानले भोकै प्यासै पर्नुपर्ने दिन आउनसक्ने चिन्ता छ ।
यसअघि कतिपय ठाउँमा नहर र पम्पको भरमा धान रोपिएको थियो तर धान रोपिएको खेतमा समेत पानी सुकेर अहिले ठूलो ठूलो चिरा पर्न थालेको छ । किसानलाई सरकारले प्राथमिकतामै नराखेको किसानको गुनासो छ । पम्पबाट पानी तान्न बिजुलीसमेत नभएको खुःखेसो किसानले गरिरहेका हुन् । जहाँ सिँचाइको सुविधा छ, त्यहाँ केही हदसम्म रोपाइँ भए पनिअधिकांश किसान अझै वर्षाको प्रतीक्षा छन् । पानी नपर्दा पूर्व तराईमा अधिकांश धान खेत बाँझै रहेको छ ।
सरकारले लगानी गरेका कयौँ ठूला आयोजनाबाट समेत यो अप्ठ्यारो घडिमा प्रतिफल देखिएको छैन । सरकारले लगानी गरेपनि नागरिकले सेवाको उपभोग गर्न मुस्किल परिरहेको छ । पानीको संकट भोगिरहेको तराईमध्य रुपन्देहीमा मात्रै जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय, भैरहवा लुम्बिनी भूमिगत जल सिंचाई ब्यवस्थापन डिभिजन, भूमिगत जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय लगायतले सिंचाई सम्बन्धि काम गर्ने सरकारी कार्यालयहरु छन् ।
यस बाहेक प्रत्येक स्थानिय तहका कृषि शाखाले पनि सिंचाईको लागि काम गरिरहेको आ–आफ्नै दावी गर्छन् । तथ्याङ्कले पर्याप्त सिँचाइ सुविधा पुगेको दाबी गरिए पनि यसवर्षको खडेरीले यो दाबीलाई झुटो सावित गरिदिएको छ । दुई दशक बढि समय र दुई अर्व ३४ करोड ९५ लाख ३३ हजार रुपैयाँको लागतमा सम्पन्न भएको भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभज) परियोजना अहिले अलपत्र अवस्थामा रहेको छ ।
रुपन्देहीको बिकास निर्माणमा र सिंचाईमा समेत महत्वपूर्ण भुमिका खेलेको परियोजना पछिल्लो समय सम्बन्धित कार्यालय र स्थानिय तहहरु बिच समन्वय हुन नसक्दा अलपत्र परेको हो । जिल्लाका कैयौँ ठूला आयोजनाहरुको तथ्यांकलाई केलाउदा स्थानिय तहहरुको समेत गरि सत प्रतिशत सिंचित क्षेत्र हुनुपर्ने हो । अनि पानीको कुनै समस्या हुन नपर्ने हो । तर अवस्था त्यस्तो छैन । चरम खडेरी भोगिरहेका किसानले सरकारको दाबी र आश्वासनमा पनि विश्वासको खडेरी देखिरहेका छन् ।
तराई क्षेत्रमा भोगिएको यस्ता पानी अभाव र सिंचाइ संकटले किसानहरू गहिरो चिन्तामा छन् । बास्तवमा यो किसानको मात्रै चिन्ता नभइ उत्पादनमा ठूलो घाटा लाग्ने संकेत पनि हो । यस्तो अवस्थामा सरकारले तात्कालिक राहत र दीर्घकालीन सिंचाइ व्यवस्थामा शीघ्र काम गर्नुपर्ने देखिन्छ । त्यस्तै किसानसँग हातेमालो गर्ने तथा खाद्य सुरक्षामा समग्र प्रभाव नपर्ने गरी प्रभावकारी समाधान ल्याउन सरकारले तत्काल पहल थाल्न आवश्यक छ ।
सत्यपाटी