२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या

सत्यपाटीसत्यपाटी । चितवन । २०८२ साउन १५ गते बिहीबार

चितवन जिल्लामा लगाइएको ड्रागन फल (सिउडी फल)मा ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण उत्पादनमा गिरावट आएको छ । पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आएका ध्रुवप्रसाद अधिकारी यस वर्ष उत्पादनमा गिरावट आउने बताउँछन् ।

ढुसिजन्य रोगका कारण उत्पादनको ५० प्रतिशत मात्र राम्रो भएको उनले बताए । फलको बोक्रामा कालो दागहरू देखिँदा व्यवसायी र प्रयोगकर्ताले समेत कम प्रयोग गर्ने उनले बताए । उनले भने ‘अहिले उत्पादनको ५० प्रतिशत राम्रो निस्किएको छ । अन्यमा समस्या देखिएको छ ।’ औषधिको प्रयोगले यत्तिको भएको उनले बताए ।

राम्रो उत्पादन भएका फलहरू व्यवसायीले लैजाने गरेको बताउँदै उनले भने ‘कालो दागहरू देखिएका फललाई सस्तोमा गाउँघरतिर बिक्री गर्नुपरेको छ ।’ यो रोग देखिएको फल एक साताभित्र प्रयोग गरिसक्नु पर्ने उनले बताए । कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तीका चौहानका अनुसार जिल्लाको २४ हेक्टर क्षेत्रफलमा लगाइएको यस फलमा समस्या देखिएको हो ।

ढुसीका कारण फलमा कोत्रे रोगको सङ्क्रमण देखिएको हो । यो रोगका कारण फल पहेँलिने, दानामा खैरो थोपा देखा पर्ने, फल कालो भई चाउरिने जस्ता समस्या देखिने गर्दछ । उनले भने ‘बिरुवामा पहिले सङ्क्रमण भएरपछि फलमा सङ्क्रमण देखिने गर्दछ । बिरुवामा पहिले नै थोप्ला–थोप्ला देखिने गर्दछ ।’ कोलेटोट्रिचम नामक ढुसिले यो रोग लाग्ने गर्दछ । फलमा यो रोग देखिएपछि बिस्तारै फल कालो हुनुका साथै फल फुट्ने गर्दछ ।

संक्रमित फल बजारमा बिक्री नहुने हुँदा समस्या आउने गरेको उनले बताए । यो रोग लाग्न नदिनका लागि बोटमानै समस्या देखिएको समयमा कपर अक्सिक्लोराइडको प्रयोग गर्न सकिने उनले बताए । प्रतिलिटर पानीमा दुई ग्राम यो औषधिको प्रयोग गरेर छर्न सकेमा समस्या नहुने उनको भनाइ छ । उनले भने, ‘सुरुआती समयमानै उपचार गर्न सके उत्पादन र बिक्री वितरणमा समस्या आउँदैन ।’

बोटमा देखिएको समस्यालाई समाधानका लागि चक्कुले खुर्किएर फङ्गीसाइडको प्रयोग गर्न सके उत्तम हुने उनले बताए । यो रोग लाग्न नदिनका लागि समय समयमा निलो तुथो (बोडोपोष्ट एवं वोडो मिश्रण) को प्रयोग गर्न सकिनेछ । बिरुवा रोप्दा चोटपटक लागेको बिरुवा नरोप्ने, रोग रहित बिरुवा लगाउने जस्ता काममा व्यवसायीक किसानले ध्यान दिनु पर्ने उनले जानकारी दिए । जिल्लामा अहिले वार्षिक २८८ मेट्रिकटन सिउडी फल उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार