लामखुट्टेबाट सर्ने रोग जसलाई गम्भीर शरीर दुखाइका कारण ‘हाड भाँच्ने ज्वरो’भनेर पनि चिनिन्छ, अब केवल मौसमसँग सम्बन्धित सानो समस्या मात्र रहेन । यो वर्षभरि देखिने विश्वव्यापी चुनौती बन्दै गएको छ र नेपालजस्ता निम्न तथा मध्यम आय भएका देशहरूमा यसको भार झनै बढ्दो छ ।
स्थिति गम्भीर बन्दै गएको छ । सन् २००० देखि २०१९ सम्ममा, विश्वभर डेंगुका घटना दश गुणा बढेका छन् । २०२३ मा ८० भन्दा बढी देशमा ६५ लाखभन्दा बढीमा संक्रमण र ७३००को मृत्यु भएको थियो । २०२४ मा नेपालमा मात्रै २८,२१२ संक्रमित र १२ जनाको मृत्यु भएको थियो भने ७७ मध्ये ७६ जिल्लामै संक्रमण फैलिएको थियो ।
बंगलादेश र थाइल्यान्ड जस्ता छिमेकी देशहरूले अझै धेरै भयावह अवस्था भोगेका छन् । विज्ञहरूका अनुसार, तीव्र शहरीकरण र जलवायु परिवर्तनले डेंगुको मुख्य वाहक एडिस एजिप्टाई लामखुट्टेलाई नयाँ ठाउँहरूमा बस्न अनुकूल वातावरण दिइरहेकाले डेंगु यति चाँडो फैलिँदैछ ।
खोपको आशा
हालसम्म डेंगुका लागि कुनै विशेष उपचार छैन ।डेंगुको हेरचाह भनेकैलक्षण व्यवस्थापन र गम्भीर असर रोक्नेहो । लामखुट्टे नियन्त्रण उपायहरू छन् तर पर्याप्त प्रभावकारी छैनन् । यस्तोमा खोप नै विकल्प बन्न सक्ने आशा गरिएको छ ।
हाल उपलब्ध दुई खोपहरू
डेङ्गभ्याक्सिया – सन् २०१९ मा स्वीकृत, ६–१६ वर्षका पहिले डेंगु भइसकेका बालबालिकाका लागि तीन मात्रा एक वर्षको अन्तरमा दिइन्छ । तर, डेंगु नभएकाहरूमा गम्भीर असर देखिएकाले यो सिफारिस गरिएको छैन । यही कारण अमेरिका लगायत धेरै देशमा यसको प्रयोग कम हुँदै गएको छ ।
क्युदेंगा – ताकेदा कम्पनीको यो नयाँ खोप मे २०२४ मा विश्व स्वास्थ्य संगठनबाट स्वीकृत भएको हो । चारै प्रकारका डेंगु विरुद्ध प्रभावकारी मानिएको यो खोप दुई मात्रा तीन महिनाको अन्तरमा दिइन्छ । यो पहिले डेंगु भइसकेका व्यक्तिमा बढी प्रभावकारी देखिएको छ, तर डेंगु नभएकाहरूका लागि पनि केही मात्रामा सुरक्षा दिन्छ ।
क्युदेंगा अहिले ब्राजिल, थाइल्यान्ड, इन्डोनेसिया आदि देशहरूमा प्रयोग भइरहेको छ । तर समस्या के छ भने यसको मूल्य धेरै महँगो छ । नेपालको सन्दर्भमा हेर्दा, प्रतिव्यक्ति वार्षिक आम्दानीलगभग १ हजार ३२४ डलर छ । यस्तो अवस्थामा क्युदेंगाको एउटा खोप कोर्सको लागत, औसत व्यक्तिको वार्षिक आम्दानीको ७.४ प्रतिशतदेखि २२.६६ प्रतिशतसम्म हुन जान्छ । अझ, धेरै मानिस दैनिक २ डलर भन्दा कम आम्दानीमा गुजारा गरिरहेकाले यो खोप साधारण जनताका लागि पहुँच बाहिरको कुरा हुन्छ ।
विगतबाट सिक्नुपर्ने
सन् २०१६ मा फिलिपिन्सले पहिलोपटक राष्ट्रव्यापी डेंगु खोप कार्यक्रम सुरु गर्यो२ । तर, पहिले डेंगु नभएका बालबालिकामा प्रतिकूल असर देखिएपछि एक वर्षमै कार्यक्रम रोकिनु पर्यो । यसले जनविश्वासमा गम्भीर चोट पु¥यायो भने चेतावनीको रुपमा पनि काम गर्यो. खोपहरू बलियो एवम् सुरक्षित डेटा र स्पष्ट सञ्चारका साथ सावधानीपूर्वक लागू गरिनुपर्छ ।
अब के गर्नुपर्छ ?
डेंगु खोपले नेपालजस्ता देशहरूमा हजारौँ जीवन बचाउन सक्छ । तर सरकारी कार्यक्रम, अनुदान वा अन्तर्राष्ट्रिय सहयोग बिना, यो मानिसहरुको पहुँचबाट अझै बाहिर रहन्छ । स्वास्थ्य विज्ञहरू भन्छन्, ‘सफल खोप कार्यान्वयनका लागि देशअनुसार फरक योजना आवश्यक हुन्छ । त्यसमा स्वास्थ्य प्रणालीको क्षमता, रोगको बोझ र खोपको लागत–प्रभाव सबै विचार गर्नुपर्छ ।’
साथै, अन्तर्राष्ट्रिय साझेदारी र सहायता पनि अनिवार्य हुनेछ । डेंगु रोकिएको छैन । बरु फैलिँदैछ । यदि हामी साँच्चै सबैभन्दा जोखिममा रहेकाहरुलाई सुरक्षित राख्न चाहन्छौं भने, यी जीवनरक्षक खोपहरूलाई सस्तो र पहुँचयोग्य बनाउनैपर्छ ।
यो लेख सन् २०२४ मा अमेरिकन जर्नल अफ ट्रपिकल मेडिसिन एण्ड हाइजिनमा प्रकाशित ‘डेंगु खोप : कम र मध्यम आय भएका देशहरूमा उपलब्धता र सान्दर्भिकता’ नामक अनुसन्धान लेखमा आधारित छ ।
सत्यपाटी