२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday
कर्णाली बैंक घोटाला प्रकरण

कर्णाली बैंकको सवा तीन अर्ब रुपैयाँ कसरी भयो झ्वाम ?

कर्णाली विकास बैंकको पूर्वअध्यक्ष र सीइओसहितले सहमतिमै सवा तीन अर्ब रुपैयाँ झ्वाम पारेका थिए ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन १५ गते बिहीबार

नेपालगन्जमा सञ्चालित कर्णाली विकास बैंकको तीन अर्ब २० करोड बढी रकम घोटालामा १०९ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बाँकेले दुई जना मृतकसहित १०९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा बुधबार उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दायर गरिएको छ ।

प्रतिवादी बनाइएकामध्ये चार जना मात्रै पक्राउ परेका छन् । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष पशुपति दयाल मिश्र, तत्कालीन प्रमुख वित्त अधिकृत वेदप्रकाश सिंह ठकुरी र राष्ट्र बैंकबाट अनुगमनमा गएका तत्कालीन अधिकृत भुवन बस्नेत पक्राउ परेका छन् । बाँकी सबै प्रतिवादीहरू फरार छन् । बैंकका पूर्व सञ्चालकसहित यी प्रतिवादीहरूले विभिन्न १३ वटा शीर्षकमा बैंकको ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रूपैयाँ ३ पैसा घोटाला गरेको अभियोग छ ।

बैंकका सञ्चालक समेतको मिलेमतोमा ऋण दिई वा पुनः ऋण खडा गरी एक अर्ब ७९ करोड ५० लाख ३४ हजार ९७१ रूपैयाँ अपचलन गरेको अभियोग छ । यस्तै अन्य बैंकबाट नगद ल्याई बैंकमा दाखिला गर्नु पर्नेमा नगरी एक अर्ब ११ करोड ९१ लाख ६३ हजार रूपैयाँ अपचलन भएको अनुसन्धानबाट खुलेको छ । प्रतिवादीहरूलाई अपचलन गरेको रकमको बिगो अनुसार एक वर्षदेखि १२ वर्षसम्म कैद सजायको माग गरिएको छ ।

यस्तै अपचलन गरेको रकमको बिगो र जरिवाना पनि भराउन माग गरिएको छ । २०६० फागुन २२ गते राजेन्द्रवीर राय र पशुपति दयाल मिश्र लगायत १४ जना मिलेर नेपालगन्ज १२, बाँकेमा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत लिएर कर्णाली विकास बैंकको स्थापना गरेका थिए । बैंकको कुल पुँजी २ करोड थियो भने कार्यक्षेत्र बाँके, बर्दिया र दाङ रहेको थियो । बैंकको चुक्ता पुँजी वृद्धि गर्ने क्रममै घोटाला भएको पाइएको छ ।

जुन कुरा बैंकका पूर्वअध्यक्ष समेत रहेका राजेन्द्रवीर रायले समेत स्वीकार गरेका छन् । न्यूनतम चुक्ता पुँजी ५० करोड वृद्धि गर्ने क्रममा कम्पनीमा सेयर लगानी गर्ने संस्थापक नपाएको र जो कोही संस्थापक भित्र्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति नपाइने अनि सञ्चालक समितिका अरु सदस्यले पनि इच्छा नदेखाएपछि त्यहीँबाट हिनामिना सुरु भएको रायले बयान दिएका छन् ।

‘बैंकबाट गोप्य रूपमा चलाउने मौखिक सहमति अनुसार म राजेन्द्रवीर रायले अपचलन बापतको रकम बैंकको पुँजी वृद्धि गर्ने र अन्य पशुपति दयाल मिश्र, निरजविक्रम शाह, दिनेशकुमार रावत, दीपा थापाले अन्य व्यक्तिगत काममा तथा घरजग्गाको कारोबारका लागि आवश्यक परेको बखत बैंकबाट लगी प्रयोग गर्ने, सो कुरा गोप्य राख्ने सहमति गरी रकम अपचलन गर्न सुरु गरिएको हो,’ रायले बयानमा भनेका छन् ।

त्यसपछि राय लगायत पशुपति दयाल मिश्र, निरजविक्रम शाह, दिनेशकुमार रावत, दीपा थापाले ठूलो रकमको आवश्यकता पर्दा र घरजग्गामा लगानी गर्दा बैंकबाट लगी चलाउने गरेका थिए । तर उनीहरूले रकम फिर्ता नगरेका कारण बैंकमा रकम अभाव सुरु भएको थियो । अपचलन गरिएको रकमको हरहिसाब गोप्य रूपमा निरजविक्रम शाह, वेदप्रकाश सिंह ठकुरी लगायत सबैले राख्ने सल्लाह गरेका थिए ।

राजेन्द्रवीर रायले ३२ करोड, पशुपतिदयाल मिश्रले १५ करोड, निरजविक्रम शाहले १५ करोड, दिनेशकुमार रावतले १५ करोड, वेदप्रकाश सिंह ठकुरीले १५ करोड र सुशीलकुमार सार्की नेपालीले दुई करोड गरी ९४ करोड अपचलन गरेका थिए । उनीहरूले विभिन्न कम्पनीका नाममा प्रवाह भएको कर्जा पनि आफैले चलाएका थिए । हिल्सा इन्भेस्टमेन्ट प्रालिका नाममा प्रवाह भएको १५ करोडमध्ये रायले १२ करोड तथा दिनेश रावत र निरजविक्रम शाहले तीन करोड अपचलन गरेका थिए ।

राप्ती पोलिमर्स प्रालिलाई प्रवाह भएको १५ करोडमा पनि राजेन्द्रवीर रायले १२ करोड तथा ३ करोड रूपैयाँ दिनेश कुमार रावत र उनका भिनाजु नाताका महेशजंग थापाले अपचलन गरेको खुलेको छ । बेचनलाल भुजुवाको नाममा प्रवाह भएको कर्जा ८० लाख पनि रायले नै अपचलन गरेको पाइएको छ । बाँके केमिकल्स प्रालिको नामको १५ करोड कर्जामध्ये दिनेशकुमार रावतले ८ करोड र रायले ७ करोड अपचलन गरेको खुलेको छ ।

१५ करोडमा तिलक विक र उनको समूहलाई बिक्री गरेकोमा दिनेशकुमार रावतको मिलेमतोमा ११ करोड ५० लाख मात्र कर्णाली बैंकमा तिरी बाँकी रकम ३ करोड ५० लाख तिलक विक, दिनेशकुमार रावतले चलाएको खुलेको छ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत निरजविक्रम शाह र महादेव भनिने वेदप्रकाश सिंह ठकुरीले कर्णाली विकास बैंकको अन्य बैंकमा रहेको मौज्दातभन्दा बढी रकम उल्लेख गरी बैंकको लेजरमा लेखेको रायको बयान छ ।

‘मैले प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएपश्चात निरजविक्रम शाहले १२ करोड, दिनेशकुमार रावतले १० करोड, महादेव भन्ने वेदप्रकाश सिंह ठकुरीले ५ करोड, ओमप्रकाश मिश्रले ५ करोड, मानबहादुर चौधरीले २ करोड अपचलन गरेका हुन्,’ पूर्वअध्यक्ष राजेन्द्रवीर रायले बयानमा भनेका छन् । कर्णाली विकास बैंकको अन्य बैंकमा रहेको खाताहरूबाट रकम निकालेर त्यो रकम बैंकमा नल्याई व्यक्तिगत रूपमा प्रयोग गर्ने र सिस्टममा सो रकम अभिलेख नगर्ने, भल्टबाट निकालिएको पैसा नगदै लिने, सो बापत खातामा पैसा नभएको डमी चेकहरू दिने र त्यो कुरा सिस्टममा अभिलेख नगर्ने गरेको पाइएको छ ।

अन्य बैंक खाताहरूमा जम्मा गर्न लगिएको रकम जम्मा नगरी आफूलाई चाहिएको बखत चलाउने तर बैंकको सिस्टममा रकम जम्मा गरिएको भनी जनाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ । लेजर मौज्दातमा बढी रकम उल्लेख गर्ने गरिएको थियो । सहमति बमोजिम अपचलन गरिएको रकमको हिसाब राख्ने काम पनि महादेव भन्ने वेदप्रकाश सिंह ठकुरीले गर्ने रायको बयान छ । बैंकलाई समय समयमा चाहिने ब्यालेन्स सिट, हिसाब मिलान दिन असार मसान्त, नेपाल राष्ट्र बैंकको निरीक्षण र लेखापरीक्षणको सिलसिलामा बिभिन्न बैंकमा रहेको खाताको हिसाब मिलान भएको देखाउने काम लेखा विभागले गर्दै आएको थियो ।

अपचलन भएको रकम मिलाउनको लागि अन्य बैंकमा रहेको खाताको ब्यालेन्स सिट किर्ते बनाउने गरेका थिए । नेपाल राष्ट्र बैंक, आन्तरिक तथा बाह्य लेखा परीक्षकलाई चाहिने सबै डकुमेन्ट किर्ते गरी बनाई गुमराहमा पार्ने काम निरजविक्रम शाहले गर्ने गरेका थिए । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाले कायम गर्नु पर्ने अनिवार्य नगद अनुपात मौज्दात कायम राख्ने प्रयोजनको लागि खोलिएको खातामा अपर्याप्त मौज्दात राखी नियमानुसार राख्नु पर्ने अनिवार्य नगद अनुपात मौज्दात खातामा नभए पनि खातामा कायम रहेको भनी गलत विवरण नेपाल राष्ट्र बैंकमा बुझाउने गरेको पाइएको छ ।

नक्कली ऋणी खडा गरी ऋण लगानी र परियोजनामा ऋण लगानी गरेको देखाई रकम आफैँले प्रयोग गर्ने गरेको पनि उनीहरूले स्वीकार गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनमा सञ्चालक तथा अध्यक्षलाई जरिवाना गरेपछि सञ्चालक पदमा बस्न अयोग्य हुने भएकाले अध्यक्ष पदबाट रायले राजीनामा दिएका थिए । त्यसपछि उनी प्रमुख कार्यकारी अधिकृत बनेका थिए । तर उनले तलब भत्ता भने अध्यक्षका रूपमा बुझ्दै आएको नै लिएका थिए । बाहिरको व्यक्ति कार्यकारी भएर आउँदा बैंकको अपचलन सार्वजनिक हुने डरले पूर्वअध्यक्ष रायलाई नै कार्यकारी बनाइएको थियो ।

उनीपछि पनि यही समूहभित्रैका तर योग्यता नपुगेका दिनेशकुमार रावतलाई नियुक्त गरिएको थियो । तुलसीपुर शाखाबाट एक करोड २५ लाख जम्मा गर्न ल्याएको भएता पनि सो रकम अपचलन गरी सम्बन्धित बैंक खातामा जम्मा नगरेको पाइएको छ । भालुवाङ शाखाबाट एक करोड केन्द्रीय कार्यालयमा फन्ड ट्रान्सफर गरेको देखाई सो रकम अपचलन गरिएको खुलेको छ । २०७४ पुस ३० गते कर्णाली विकास बैंकको सिटिजन्स बैंक, नेपालगन्जस्थित खाताबाट प्रभु बैंकस्थित खातामा एक करोड रकमान्तर गरेको संस्थाको हिसाबबाट देखाई सो रकम अपचलन गरिएको खुलेको छ ।

२०७४ भदौ ८ मा कर्णाली विकास बैंकको भुरीगाउँ शाखाबाट १ करोड केन्द्रीय कार्यालयमा फन्ड ट्रान्सफर गरी मुख्य शाखाबाट सिद्घार्थ बैंकमा दाखिला गर्न पठाएको देखाई अपचलन गरिएको र यसमा सञ्चालकहरूकै मिलेमतो देखिएको छ । रकम अपचलन गर्ने कार्य बैंकको चुक्ता पुँजी बढाउने क्रमसँगै २०७० सालबाट सुरु भएको उनीहरूको बयान छ । बैंकको रकम अपचलन गरेर कहाँकहाँ लगानी गरिएको छ भन्ने पनि उनीहरूले खुलाएका छन् । यसरी लगानी गरिएको सम्पत्ति समेत जफत गर्न अभियोग पत्रमा माग गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार