२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

बुवाले बाटोमै छाडेकी स्वस्तिकाले पाइन् नागरिकता

सत्यपाटीसत्यपाटी । काभ्रेपलाञ्चोक । २०८२ साउन १५ गते बिहीबार
स्वस्तिका केसीलाई जिल्ला प्रशासन कार्यालयले मङ्गलबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्दै ।

१४ वर्षसम्म काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित सिद्धार्थ बालगृहमा परिचयविहीन अवस्थामा अध्ययन गर्दै आएकी २० वर्षीय स्वस्तिका केसीले बल्ल नेपाली नागरिकता प्रमाणपत्र र बुवाआमा पाएकी छन् । बुवा विष्णुराज केसीले १४ वर्षअघि धुलिखेलमा छोरी स्वस्तिकालाई बीच बाटोमै छोडेर फरार भएका थिए ।

आमा मञ्जु केसीले त्यसबेला छोरी स्वस्तिकालाई बुवाको जिम्मा लगाएर घर छोडेर हिँडेकी थिइन् । धुलिखेलको सडकमा अलपत्र अवस्थामा फेला परेकी ६ वर्षीय स्वस्तिकालाई धुलिखेलकी राधा माकजूले एक वर्ष आफ्नो साथमा राखेर धुलिखेल इङ्ग्लिस बोर्डिङ स्कुलमा पढाएकी थिइन् ।

माकजू स्थायी बसोबास नै गर्ने गरी अमेरिका जानुपर्ने भएपछि उनले धुलिखेलमा रहेको सिद्धार्थ बालगृहमा स्वस्तिकालाई पढाउन र हेरचाहसहितको आवासीय व्यवस्था मिलाएकी थिइन् । शर्मिला श्रेष्ठले सञ्चालन गरेको सिद्धार्थ बालगृहमा बसेर स्वस्तिकाले सोही स्थानको सञ्जीवनी नमुना माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरिन् । कक्षा १२ सम्मको पढाइ बनेपास्थित आदर्श माविबाट पूरा गरिन् ।

शर्मिलाले स्वस्तिकाका बुवाआमाको पहिचानका लागि सामाजिक अभियन्ता अर्जुन भुसाललाई गुहारेकी थिइन् । भुसालले सामाजिक सञ्जालमार्फत स्वस्तिकाबारे भिडियो सामग्री प्रसारण गरेपछि स्वस्तिकाकी आमा मञ्जु सम्पर्कमा आएका थिए । केही दिनपछि बुवा विष्णुराज पनि सम्पर्कमा आए । त्यसपछि १४ वर्षअघि छोडेर फरार रहेका अभिभावक भेटिएपछि स्वस्तिकाले वंशजका आधारमा नेपाली नागरिकता पाएकी हुन् ।

स्वस्तिकाका बुवा विष्णुराज, सिद्धार्थ बालगृहकी सञ्चालक शर्मिला श्रेष्ठ, अभियन्ता भुसाल, राधा माकजूका छोरा सुवास माकजूलगायत स्वस्तिकाको गृहगाउँ सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका–१०, खत्रीथोक पुगेर नागरिकताका लागि वडाध्यक्ष नीलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीसँग भेट गरेका थिए । वडाध्यक्ष तामाङले सार्वजनिक वडा मुचुल्का गरेर नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय चौतारा पठाएका थिए ।

प्रजिअ किरण थापा, सहायक प्रजिअ गणेश नेपालीले स्वस्तिकालाई वंशजका आधारमा साउन १३ गते मङ्गलबार नेपाली नागरिकता प्रदान गरेका हुन् । स्वस्तिकालाई नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालयले जिल्ला समन्वय समितिका उपप्रमुख पदम नेपाल लगायतको रोहवरमा प्रदान गरेको थियो । बुवाआमाले सानोमा छाडे पनि अहिले भेट भएर नागरिकता दिलाएकोमा स्वस्तिकाले खुसी व्यक्त गरिन् ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार