बाँकेमा पछिल्ला वर्षहरुमा बसाइँसराइ गरेर आउने र जाने दुवै थरी नागरिकको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ मा जिल्लामा बसाइँ सरेर आउने र जिल्लाबाट बसाइँ सरेर बाहिरी जिल्ला जाने दुवै थरी नागरिकको सङ्ख्यामा वृद्ध भएको हो ।
गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०९७ परिवार बाँके आएका छन् । २०९७ परिवारका ६३९६ जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका हुन् । त्यसैगरी १००३ परिवारका २९४६ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका छन् । आर्थिक वर्ष २०८०–०८१ मा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०३२ परिवार बाँके आएका थिए ।
२०३२ परिवारका ६०८० जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका थिए । यसैगरी ९०३ परिवारका २६४५ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका थिए । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्षमा बसाइँसराइ गरेर आउने र जाने दुवै थरीको सङ्ख्यामा वृद्धि भएको हो ।
बाँकेका आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउने नागरिकमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएका छन् । तथ्याङ्कअनुसार जिल्ला बाहिरबाट बसाइँसराइ गरेर बाँके जिल्लाका विभिन्न पालिकामा आउने नागरिकको सङ्ख्यामध्ये सबैभन्दा बढी कोहलपुरमा आएको पाइएको हो ।
गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बाँके जिल्लामा बसाइँसराइ गरेर आउनेको सङ्ख्या सबैभन्दा धेरै कोहलपुरपछि क्रमशः बैजनाथ, नेपालगन्ज, खजुरा, राप्तीसोनारी, डुडुवा, नरैनापुर र जानकी रहेका छन् । कोहलपुरमा गत आवमा ६८२ परिवारका १९९० जना नागरिक बसाइँसराइ गरेर आएको कोहलपुर नगरपालिकाका एमआइएस अपरेटर रोशन चापागाईँले जानकारी दिए ।
उनका अनुसार उक्त वर्षमा २८७ परिवारका ८२३ जना सदस्यले बसाइँ सरेर अन्यत्र गएका थिए । बैजनाथमा गत आवमा ५३२ परिवारका १६३२ जना सदस्य बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएको र १४६ परिवारका ४३८ सदस्यहरू बसाइँ सरेर अन्यत्रै गएको पञ्जीकरण शाखा प्रमुख यमुनाकुमारी शर्माले जानकारी दिइन् ।
नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा गत आर्थिक वर्षमा ५२० परिवारका १६१५ जना सदस्य बसाइँ सरेर आएको नेपालगन्ज उपमहानगरपालिकाका पञ्जीकरण शाखाका कर्मचारी अमरकुमार चिडिमारले जानकारी दिए । उनका अनुसार उक्त वर्षमा नेपालगन्जबाट ३०१ परिवारका ८७१ जना सदस्यले बसाइँ सरेर बाहिरी जिल्ला गएका हुन् ।
खजुरा गाउँपालिकाका एमआइएस अपरेटर नर्वदा दाहालका अनुसार खजुरामा २०३ परिवारका ६७१ जना सदस्यहरू बसाइँसराइ गरेर आएका छन् । उक्त आवमा १२४ परिवारका ३७४ जना सदस्य अन्यत्रै बसाइँ सरेर गएका छन् । त्यसैगरी राप्तीसोनारीमा ११६ परिवारका ३५८ जना सदस्य बसाइँ सरेर आएको र १०० परिवारका २८३ जना सदस्य बसाइँ सरेर अन्यत्र गएको एमआइएस अपरेटर कुमार थापाले जानकारी दिए ।
डुडुवा गाउँपालिकामा गत आवमा ३४ परिवारका ९५ सदस्य बसाइँ सरेर आएको पालिकाले जनाएको छ । पालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार उक्त आवमा ३७ परिवारका १२२ जना सदस्य बसाइँसराइ गरेर बाहिर गएका छन् । नरैनापुरमा १० परिवारका २८ जनाले बसाइँ सरेर आएको र ८ परिवारका २९ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको पञ्जीकरण शाखाका एमआइएस अपरेटर गोविन्दप्रसाद गोडियाले जानकारी दिए ।
जानकी गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आवमा सात जना सदस्य बसाइँसराइ गरेर आएका छन् भने ६ जनाले बसाइँ सरेर बाहिर गएका छन् । प्राप्त तथ्याङ्कमा परिवार दर्ता सङ्ख्या उल्लेख गरिएको छैन । आर्थिक वर्ष २०८०–०८१ मा कोहलपुरमा ७६१ परिवारका २१६४ जना, नेपालगन्जमा ५३३ परिवारका १६७८ जना बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएका थिए ।
त्यस्तै बैजनाथमा ३६६ परिवारका ११५६ जना, खजुरामा २४४ परिवारका ७३३ जना, राप्तीसोनारीमा ११२ परिवारका ३०१ जना, डुडुवामा शून्य जना, जानकीमा १ परिवारका ४ जना र नरैनापुरमा १५ परिवारका ४४ जना गरी कुल २०३२ परिवारका ६०८० जना बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएका थिए ।
त्यसैगरी, कोहलपुरबाट २५४ परिवारका ६९९ जना, नेपालगन्जबाट ३१२ परिवारका ९६८ जना, बैजनाथबाट १४६ परिवारका ४०० जना, खजुराबाट ९७ परिवारका २८६ जना, राप्तीसोनारीबाट ८२ परिवारका २०१ जना, डुडुवाबाट ४ परिवारका १६ जना, जानकीबाट २ परिवारका ६ जना र नरैनापुरबाट ६ परिवारका १९ जना गरी कुल ९०३ परिवारका २६४५ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको तथ्याङ्क रहेको छ ।
सत्यपाटी