२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

बाघ संरक्षणमा बाँके निकुञ्ज सफल

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन १४ गते बुधबार
वन्यजन्तुका लागि बाँके राष्ट्रिय निकुञ्जमा निर्माण गरिएको सोलारसहितको कृत्रिम पानी पोखरी ।

बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले उल्लेखनीय सफलता हासिल गरेको छ । बाघ संरक्षणसँगै बाघ लगायतका अन्य जनावरलाई मानव बस्तीमा छिर्न नदिन निकुञ्जले पूर्वाधार निर्माणमा निर्माणमा विशेष जोड दिएको छ ।

निकुञ्जले बाहै्र महिना पानी पाइने सोलारसहितका पोखरीहरुको निर्माण, आहाराजन्य प्रजातिको सङ्ख्या बढाउन घाँसे मैदानको विस्तार, वासस्थान व्यवस्थापन र जोखिममा रहेका गाउँबस्ती छेउमा तारजालीको निर्माणमा विशेष जोड दिएको निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत बिरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

उनले गत केही वर्षको अवधीमा बाँकेमा मानव–वन्यजन्तु द्वन्द् बढ्दै गएकाले बाघ संरक्षणसँगै यसको न्यूनीकरण गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दा सफलता मिलेको बताए । उनले बाघको संरक्षणसँगै बाघलाई गाउँबस्ती वा राजमार्ग नजिक जान नदिन निकुञ्जभित्र घाँसे मैदान विस्तार गरेर आहाराजन्य प्रजातिको सङ्ख्या बढाएको दावी गरे ।

उनले भने, ‘पानीको विशेष व्यवस्थासँगै मानव बस्तीको छेउमा तारजालीसमेत जडान गर्यौं । यी कार्यले गर्दा मानव–वन्यजन्तु द्वन्द्व घटेको छ ।’ वरिष्ठ संरक्षण अधिकृत कँडेलका अनुसार आहाराजन्य प्रजातिका लागि ४५० हेक्टरमा घाँसे मैदान विस्तार गरिएको छ भने बाहै्र महिना पानीको व्यवस्था गर्न २५ वटा सोलार र मोटरसहितका पानी पोखरी निर्माण गरिएको छ ।

त्यस्तै वन्यजन्तु छिर्ने जोखिम रहेका गाउँबस्ती छेउमा गत आर्थिक वर्षमा मात्रै १० किलोमिटर क्षेत्रमा तारजाली जडान गरिएको छ । पानीको व्यवस्थापन गर्न हरेक पाँच किलोमिटरको दूरीमा पोखरीको निर्माण र व्यवस्थापनसँगै महेन्द्र राजमार्गको दुबैतर्फ १० देखि २५ मिटरसम्मको जङ्गल तथा झाडी सफा गरेर वन्यजन्तुलाई दुर्घटनाबाट जोगाउन सफन भएको जनाइएको छ ।

साथै आगलागी हुने जोखिम र सरसफाइको पनि व्यवस्थापन गरिएको निकुञ्जले जनाएको छ । मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने उद्देश्यले मध्यवर्ति क्षेत्रका स्थानीयलाई वनजङ्गलमा जानबाट रोक्नका लागि वैकल्पिक उर्जामा जोड दिएर गोबर ग्यास जडान, सोलार जडान लगायत इन्डक्सन चुल्होसमेत वितरण गरिएको छ ।

पछिल्लो समयमा निकुञ्ज व्यवस्थापनले गरेका विभिन्न कार्यहरुले गर्दा जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व एकदमै घटेको र सोही कारणले विभिन्न घटना दुर्घटना कम हुनुका साथै पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ । विगतमा पानी र आहाराको खोजीमा हिँडेका बाघ लगायतका जङ्गली जनावर मध्यवर्ती क्षेत्रका बस्ती र पूर्वपश्चिम राजमार्गसम्म पुग्दा दुर्घटना लगायत मानव—वन्यजन्तु द्वन्द्वसमेत हुने गरेको थियो ।

२०७९ सालको सर्वेक्षण अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वयस्क बाघ रहेका छन् । यस्तै स्तनधारी वन्यजन्तु ३४, चरा २७६, सरिसृप २४, उभयचर नौ र माछा ५५ गरी ४२२ प्रजाति रहेका छन् । विसं २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्ज विमानस्थलबाट १६ किलोमिटरको दूरीमा रहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ ।

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधबार