रसुवाको भोटेकोसी नदीमा गएराति फेरि ठूलो बाढी आएको छ । गएराति दुई बजेदेखि भोटेकोसीमा ठूलो बाढी आएको हो । बाढीले सडकमार्गमा व्यापक क्षति गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
‘गएको असार २४ गते आएको जत्रै ठूलो बाढी आएको छ,’ जिल्ला प्रहरी कार्यालय रसुवा प्रमुख डीएसपी हेमबहादुर शाहीले भने, ‘बाढीले सात–आठ ठाउँमा सडक बगाएको छ ।’ बाढीले सडक बगाउँदा पासाङ ल्यामु सडकखण्ड अवरुद्ध भएको उनले बताए ।
‘स्याप्रुवेसीदेखि टिमुरे–रसुवागढीसम्मका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ,’ डीएसपी शाहीले भने, ‘अहिले यो सडकखण्ड पूर्णरुपमा सडक अवरुद्ध । झण्डै सात–आठ ठाउँमा सडक बगाएको छ । क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन ।’
असार २४ गते आएको बाढीले बगाएको सडक मर्मत गरेपछि त्यस क्षेत्रमा केही दिनअघिबाट मात्रै गाडी चल्न थालेका थिए । मर्मत गरेको र नयाँ ठाउँमा पनि बाढीले सडक कटान गरेको शाहीले बताए । रसुवा क्षेत्रमा पानी नपरे पनि भोटेकोसीमा ठूलो बाढी आएको हो ।
‘गएराति रसुवा क्षेत्रमा ठूलो परेको छैन,’ उनले भने, ‘तिब्बततिर भएको वर्षाले यो बाढी आएको हो कि हिमताल फुटेर आएको हो, अहिले भन्न सकिने अवस्था छैन । तर, बाढी असार २४ कै जत्रो छ । तिब्बत क्षेत्रमा कतै हिमताल फुटेको पनि हुनसक्छ ।’
भोटेकोशी नदीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने भोटेकोशी नदीमा एक्कासी बहाव बढेपछि रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बुधबार बिहान २ बजेतिरबाटै नदीमा पानीको बहाव बढेको बताए ।
‘नदीमा बहाव बढेकाले हामीले तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपानाउन सूचना जारी गरिसकेका छौँ,’ उनले भने । नदीमा आएको बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाउँदै गरेको बाटो पनि बगाएको उनले जानकारी दिए । मंगलबार राति पानी परे पनि अहिले भने रसुवामा पानी नपरेको सहायक प्रजिअ अधिकारीले जानकारी दिए ।
बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा पनि बगाएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढी आएको रसुवाबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय रसुवाले एक सूचना जारी गर्दै रसुवा भई बहने भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो ।
जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीमा बहाव बढ्न सक्ने जानकारी आएको उल्लेख गर्दै प्रशासनले सावधानी अपनाउन आग्रह गरेको थियो । असार २४ गते भोटेकोशीमा आएको बाढीले नेपाल र चीनतर्फ ठूलो जनधनको क्षति भएको थियो ।
सत्यपाटी