२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

कैलालीका किसानले भित्र्याए चैते धान

सत्यपाटीसत्यपाटी । कैलाली । २०८२ साउन १४ गते बुधबार

कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त छिन् । चैतमा रोपेको धान दोस्रोपटक काट्न उनी व्यस्त भएकी हुन् । पहिलो चरणमा जेठमै धान भित्र्याएकी सीता दोस्रोपटक धान भित्र्याउन पाउँदा खुसी छिन् ।

‘यस वर्ष वर्षा नभएपछि डुबान नहुँदा दोस्रोपटक धान फलेको हो,’ उनी भन्छिन्, ‘चैते धान लगाएका अधिकांश किसानलाई आजभोलि धान भित्र्याउन भ्याइनभ्याइ छ ।’ किसानले पहिलोपटक काटेको धानको बोटमा नयाँ टुसा हालेर पुनः धानका बाला लाग्ने गर्छन् । अधिकांश किसान यतिबेला धान भित्र्याउन खेतमा व्यस्त देखिएका छन् ।

यस वर्ष वर्षा कम भएपछि बाढी र डुबानमा पर्ने भजनीका फाँटमा पानी भरिएको छैन । तिनै खेतीयोग्य फाँटमा किसानले चैते धानखेती गर्दै आएका छन् । डुबान नभएपछि चैते धान लगाएका अधिकांश क्षेत्र धानका लटरम्म बाला देख्न सकिन्छ । खेतमा बढी पानी भएको ठाउँमा किसानले आफैँ धान काटेर भित्र्याउन लागेका छन् ।

पानी नभएको क्षेत्रका कतिपय किसानले मेसिन लगाएर धान काट्ने काम गर्दै आएका छन् । ‘कतिपयलाई पानी नपरेर तनाव भए पनि हामी खुुसी छौँ,’ सुनिता डगौरा भन्छिन्, ‘पानी नपरेकै कारण दोस्रोपटक धान भित्र्याउन पाएका छौँ । आजसम्म बाढी र डुबानका कारण विस्थापित भएर सडकमा आउनपरेको छैन ।’

दोस्रोपटक भित्र्याउने धानमा किसानको लगानी शून्य हुन्छ । त्यसमा किसानले मलखाद, सिँचाइ, गोडमेलजस्ता कुनै काम गर्दैनन् । उत्पादनको माया मारेको ठाउँबाट उत्पादन हुन थालेपछि किसान उत्साहित देखिन्छन् । खासगरी डुबान भएन र हेरचाह राम्रो पाएको खण्डमा किसानले एकै बालीबाट दुईपटक लाभ लिने उनीहरूको भनाइ छ ।

अझै पहिलोपटकको जस्तो हेरचाह भए पहिलोपटकको आधा उत्पादन दोस्रोपटक गर्न सकिने भजनी–८ का किसान जयप्रसाद ढुङ्गाना बताउँछन् । ‘केही लगानी नगरेर किसानले अहिले प्रतिबिघा पाँचदेखि १० क्विन्टलसम्म धान उत्पादन गरिरहनुभएको छ,’उनले भने, ‘ढाइ बिघामा मेरो पनि करिब १२ क्विन्टलभन्दा बढी धान उत्पादन भएको छ । जहाँ मेरो कुनै लगनी थिएन ।’

उत्पादनका हिसाबले बर्खे धानभन्दा चैते धान निकै उपयोगी छ । किसानले एक बिघामा ४० क्विन्टलसम्म चैते धान उत्पादन गर्न सक्छन् । दोस्रोपटक त्यसै अनुरूपको हेरचाह गर्न सक्यो र डुबान भएन भने २० क्विन्टलसम्म उत्पादन गर्न सकिने किसान बताउँछन् । ‘बर्खे धानभन्दा लागत चैते धानमा बढी छ । त्यसै अनुसारको उत्पादनले पनि किसान सन्तुष्ट छन्,’ सोही ठाउँका किसान बुद्धिराम थारू भन्छन् ।

उनले किसानले ढुक्कका साथ चैते धानखेती गर्ने भएका कारण पनि भजनी क्षेत्रमा यसको महत्त्व बढ्दै गएको बताए । त्यतिमात्र नभई बाढी र डुबानको जोखिन नहुने भएपछि किसानले चैते धानमा लगानी गर्न कुनै कन्जुस्याइँ नगरेको पाइन्छ । बर्खे धान भित्र्याउने कुनै प्रत्याभूति नभएका किसानलाई चैते धान नै प्रमुख स्रोत हो भन्ने बुझाइ छ ।

‘बर्खे बालीमा लगानी गर्न हामी डराउँछौँ । किनभने लागत नै उठ्ने कुनै ग्यारेन्टी हुँदैन,’ किसान कमला चौधरीले भने, ‘चैते धानमा लगानी गरेर पछुतो मान्नुपरेको छैन । बरु बिनालगानी उत्पादन दिइरहेको छ ।’ भजनीमा चैते धान विस्तार कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ धनगढीले सहयोग गर्दै आएको छ ।

चैते धान विस्तार जोन नै सञ्चालन गर्दै आएको कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीले एकपटक काटेको धान अर्कोपटक फल्नु धेरै राम्रो कुरा भएको बताउँछन् । ‘हामीले यसको विषयमा खोजबिन गरेका छैनौँ । यसको अध्ययन गरेर वास्तविकता बुझ्न सकिने कुरा हो,’ उनले भने, ‘दोस्रोपटक सोचेजस्तो उत्पादन दिएको खण्डमा भविष्यका दिनमा किसानलाई थप प्रोत्साहन हुनेगरी कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।’

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधबार