बाँके जिल्लामा पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाले निर्माण गरेको नहर तथा अन्य सिँचाइका कारण ९० प्रतिशतभन्दा बढी रोपाइँ भएको छ । बाँके बर्दिया लगायतका तराईका जिल्लाहरुमा लामो समयदेखि पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा बाँके जिल्लामा भने ९०.९ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिक्टा सिंँचाइ आयोजनाको विभिन्न नहरहरूको निर्माण पुरा भएर पानी छोडिएकोले सो पानीको प्रयोग तथा मोटरबाट पनि विभिन्न स्थानमा किसानले पानी तानेर रोपाइँ गरेकोले ९०.९ प्रतिशत रोपाइँ सम्भव भएको बताए ।
बाँकेमा सिक्टा सिँचाइ आयोजनाको नहरहरू सञ्चालनमा आइसकेकोले अब यहाँका किसानले आकासे खेतीको भरमा खेती गर्नुपर्ने बाध्यता समाप्त भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत बस्नेतले बताए । उनले सिक्टाको नहर नपुगेको नरैनापुर र जानकी गाउँपालिकामा अन्य पालिकाको तुलनामा रोपाइँ कम भएपनि नहर पुगेको पालिका तथा अन्य माध्यमबाट सिँचाइ गरेका पालिकाहरूमा राम्रो रोपाइँ भएको बताए ।
सिक्टा सिँचाइ आयोजनाका कारण यस वर्ष समयमै रोपाइँ सम्पन्न हुन लागेकोले यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । हालसम्मको अवस्थालाई हेर्दा यस वर्ष विगतभन्दा १५ देखि २० प्रतिशतसम्म धान उत्पादन बढ्ने अनुमान गरिएको सो कार्यालयको अनुमान छ ।
सिक्टा सिँचाइ आयोजनाबाट जिल्लाको २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले यस पटक वर्षा नभए पनि रोपाइ प्रभावित नभएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले बताए । उनले आयोजनाको पश्चिमी र पूर्वी मूल नहरसँगै विभिन्न शाखा नहरहरूबाट किसानहरूले पानी तानेर रोपाइँ गरेको बताए ।
बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गरेकोमा सिक्टा सिँचाइबाट २२ हजार हेक्टर र अन्य विभिन्न बोरिङ र सिँचाइबाट गरेर करिब सात हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले वर्षा नभए पनि रोपाइँ सम्भव भएको राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासङ्घ बाँकेका अध्यक्ष शालिकराम डाँगीले बताए । उनले सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य पूरा भएपछि अकाशको भरमा खेती गर्ने बाध्यता पूर्णरूपमा अन्त हुने बताए ।
सत्यपाटी