२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

स्वास्थ्य सेवाको मेरुदण्ड भेरी अस्पताल

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन १२ गते सोमबार

१३५ वर्षे गौरवशाली इतिहास बोकेको नेपालगन्जको भेरी अस्पताल आज पश्चिम नेपालको स्वास्थ्य सेवा क्षेत्रको अभिन्न हिस्सा मात्र होइन, जीवनरक्षक केन्द्रको रूपमा स्थापित भइसकेको छ । कोरोना महामारीको संकटदेखि विशिष्टिकृत स्वास्थ्य सेवा र आधुनिक प्रविधिको समावेशसम्मको यात्रा यस अस्पतालको प्रगतिको प्रतिक बनेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लाखौं नागरिकका लागि भेरी अस्पताल अहिले सर्वाधिक भरोसायोग्य प्रेषण अस्पताल मानिन्छ ।

विक्रम सम्वत् १९४७ सालमा पृथ्वी–वीर डिस्पेन्सरीको रूपमा सुरु भएको भेरी अस्पतालले क्रमशः २०१६ सालमा पृथ्वी–वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह र २०२२ सालमा भेरी अञ्चल अस्पतालको रूपमा रूपान्तरण गर्यो । काठमाडौंको वीर अस्पतालसँगै स्थापना भए पनि सरकारी प्राथमिकतामा कमीका कारण भेरी अस्पतालले अपेक्षित गति लिन सकेन । वीर अस्पताल अहिले राष्ट्रिय सन्दर्भ अस्पतालको रूपमा उभिएको छ तर भेरी अस्पताल अझै आवश्यक स्तरको पूर्वाधार र सरकारी ध्यान पाउन सकेको छैन । यो अन्तरको कारण बताउँदा स्वास्थ्यकर्मीहरू भन्छन्, ‘सरकारमा दल फेरिए पनि भेरी अस्पतालको स्तरोन्नतिको विषय सधैं उपेक्षित रह्यो ।’

कोरोना महामारी र सरकारी अस्पतालको महत्व

कोरोना महामारीले सरकारी अस्पतालको अपरिहार्यता स्पष्ट पारेको थियो । जब निजी अस्पतालहरूले सेवा ठप्प गरे, भेरी अस्पताल अग्रपंक्तिमा रहेर बिरामीको उपचारमा जुट्यो । अस्पताल व्यवस्थापनदेखि स्वास्थ्यकर्मी र प्रशासनिक टोलीले आफ्नै जीवनको जोखिम मोल्दै निरन्तर सेवा दिए । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह भन्छन्, ‘गर्नुपर्ने काम धेरै छन्, तर अस्पतालले स्तरोन्नतिको लय समातेको छ । अब हामी योजना बनाएर अघि बढिरहेका छौं ।’ भेरी अस्पतालको कोरोना संकट व्यवस्थापनको सफलताले पश्चिम नेपालका नागरिकको विश्वास अझ गहिरो बनाएको छ ।

विशिष्टिकृत सेवाको विस्तार

भेरी अस्पतालले पछिल्ला वर्षमा स्वास्थ्य सेवाको दायरालाई विस्तार गर्दै विशिष्टिकृत उपचारका थुप्रै सुविधा सुरु गरेको छ । मुटु, मिर्गौला, हाडजोर्नी, न्यूरो, युरो, ग्यास्ट्रोसर्जरीजस्ता विभागबाट विशेषज्ञ सेवा प्रदान भइरहेको छ । प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा. निराजन सुवेदी भन्छन्, ‘पश्चिम नेपालका सरकारी अस्पतालमध्ये यति धेरै विशिष्टिकृत सेवा दिन सक्ने सम्भवतः भेरी अस्पताल मात्र हो । अबको लक्ष्य विद्यमान सेवालाई दिगो बनाउने र नयाँ सेवाहरू विस्तार गर्ने ।’ यसबाहेक अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा, जलन वार्ड र सिकलसेल एनिमिया–थालेसिमियाको उपचारका लागि छुट्टै वार्ड सञ्चालनमा ल्याएको छ । यसले बिरामीलाई सहज र सुलभ उपचारको सुविधा प्रदान गरेको छ ।

नवजात शिशुमा रोग निदानमा क्रान्ति

भेरी अस्पतालले नेपालमै पहिलोपटक नवजात शिशुमा सिकलसेल एनिमिया र थालेसिमिया रोगको प्रारम्भिक निदान गर्ने अत्याधुनिक उपकरण जडान गरेको छ । मेडिसिन विभागका प्रमुख डा. राजन पाण्डेका अनुसार अब बच्चा जन्मनेबित्तिकै रोगको परीक्षण गर्न सकिनेछ । यसबाट रोगको छिटो पहिचान र समयमै औषधोपचार सम्भव हुनेछ । भारतमा समेत यो प्रविधि सीमितरूपमा मात्र उपलब्ध भएको हुँदा भेरी अस्पतालको यो उपलब्धिलाई महत्वपूर्ण प्रगति मानिएको छ ।

शैक्षिक र अनुसन्धानात्मक प्रगति

भेरी अस्पताल अब उपचार मात्र होइन, शिक्षा र अनुसन्धानको केन्द्र पनि बन्दैछ । मेडिसिन, अर्थोपेडिक र सर्जरीमा एमडीएमएस अध्ययन सुरु भएको छ । अस्पतालका आधा दर्जनभन्दा बढी चिकित्सक प्रोफेसरको पदमा कार्यरत छन्, जसले नयाँ पुस्ताका चिकित्सकलाई गुणस्तरीय शिक्षा प्रदान गर्दैछन् । डा. सुवेदीका अनुसार शिक्षा र उपचार सँगसँगै अघि बढ्दा बिरामीलाई पनि सीधै लाभ हुन्छ । विशेषज्ञ चिकित्सकको उपलब्धताले सेवा अझ प्रभावकारी हुन्छ ।

पूर्वाधार र दरबन्दीको चुनौती

भेरी अस्पतालमा दरबन्दीको समस्या अझै समाधान हुन सकेको छैन । विशेषज्ञ र सहायक स्वास्थ्यकर्मीको कमीले सेवा विस्तारमा बाधा पुर्याइरहेको डा. सुवेदीको धारणा छ । सरकारले २०७७÷७८ को बजेटमा पाँच सय बेडको पूर्वाधार निर्माण गरी भेरीलाई विशिष्टिकृत अस्पतालको रूपमा विकास गर्ने घोषणा गरेको थियो । तर यस योजनाको कार्यान्वयनमा ढिलाइ भइरहेका कारण अस्पताल अझै पूर्वाधार अभावसँग जुधिरहेको छ । वार्षिक एक लाखभन्दा बढी बिरामीले उपचारका लागि भेरी अस्पताल धाउँछन् । यो चाप सम्हाल्न पूर्वाधार सुधार र जनशक्ति थप्ने आवश्यकता अस्पताल विकास समितिका अध्यक्ष शाहले बारम्बार उठाएका छन् ।

निजी अस्पतालसँगको प्रतिस्पर्धा र सेवा सुधार

नेपालगन्ज र आसपासका क्षेत्रमा निजी अस्पतालको संख्या बढ्दै जाँदा स्वास्थ्य सेवा महँगो भएको छ । तर भेरी अस्पतालले सस्तो, गुणस्तरीय र विशेषज्ञ सेवा प्रदान गरेर निजी अस्पतालमा निर्भरता घटाउने प्रयास गरिरहेको छ । अध्यक्ष शाह भन्छन्, ‘भेरी अस्पतालको स्तरवृद्धि अबको आवश्यकता हो । यसले जनतालाई महँगो शुल्क तिरेर निजी अस्पतालमा धाउनुपर्ने बाध्यता अन्त्य गर्न सक्छ ।’

भविष्यको लक्ष्य र अपेक्षा

भेरी अस्पतालले आफ्नो १३५ वर्षे इतिहासको सफलताबाट प्रेरणा लिँदै अबको दशकमा अझ आधुनिक र दीर्घकालीन स्वास्थ्य सेवा प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ । विद्यमान सेवाको दिगोपन, नयाँ प्रविधिको समावेश र विशेषज्ञ जनशक्ति थप्ने योजनामा अस्पताल अघि बढिरहेको छ । डा. सुवेदीले भने, ‘हामीलाई दुई कुरामा जोड दिनुपर्छ–उपलब्ध सेवालाई दिगो बनाउने र नयाँ विभाग थप्दै लैजाने । यसका लागि सरकारी प्राथमिकता अपरिहार्य छ ।’

भेरी अस्पतालको १३५ वर्षे यात्रा केवल स्वास्थ्य सेवाको इतिहास मात्र होइन, पश्चिम नेपालका जनतासँगको गहिरो सम्बन्धको कथा हो । कोरोना महामारीदेखि नवजात शिशुमा रोग निदानको अत्याधुनिक प्रविधिसम्मको प्रगति यस संस्थाको क्षमताको प्रमाण हो । अबको आवश्यकता भनेको सरकारी प्राथमिकता, स्थायी दरबन्दी र पर्याप्त पूर्वाधारको सुनिश्चितता हो । यसो गर्न सके भेरी अस्पताल केवल पश्चिम नेपाल मात्र होइन, सम्पूर्ण देशकै उत्कृष्ट सरकारी स्वास्थ्य केन्द्रको रूपमा उदाहरण बन्नेछ ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार