प्राकृतिक विपतको उच्च जोखिममा रहेको कर्णाली प्रदेशका सबै घरहरुको बीमा गरिने भएको छ । कर्णाली प्रदेशले प्रदेशका विपत जोखिम क्षेत्रका स्थानीय तहहरुमा घर बीमा कार्यक्रम लागू गरेको छ । कार्यक्रम अन्तर्गत पहिलो चरणमा कर्णालीका ७९ स्थानीय तह मध्ये १५ वटा पालिकामा यो कार्यक्रम सुरु गरिएको हो । आर्थिक बर्ष २०८१–०८२ को कार्यक्रम अन्तर्गत १५ वटा पालिकाका २१३ वडामा १६ हजार घरको बीमा गरिएको छ ।
प्राकृतिक विपद् र भवितव्यबाट हुने क्षति, नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न घर वीमा कार्यक्रम शुरु गरिएको हो । कर्णाली प्रदेश प्राकृति विपद्को उच्च जोखिमको रहेको र यहाँका नागरिकले विपद्का कारण वर्षेनी जनधनको क्षति व्यहोर्नुपरेको अवस्थालाई मध्यनजर गर्दै कर्णाली प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकको निजी आवासीय घरको प्राकृतिक विपद् लगायतको भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न घर बीमा कार्यक्रम शुरुवात गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार घर बीमा कार्यान्यवन गर्न घर बीमा कार्यक्रम सम्बन्धी कार्यविधि २०८१ गत फागुन १३ गते मन्त्रीपरिषदबाट स्वीकृत भएको थियो । कार्यविधि बमोजिम घर बीमा कार्यक्रममा आवद्ध हुन प्रदेशका स्थानीय तहलाइ सूचना गर्रिकोमा १० जिल्लाका २३ वटा स्थानीय तहले प्रतिबद्धतासहित प्रतिवद्धतासहितको पत्राचार गरेको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिए ।
उनका अनुसार कार्यविधिको दफा ३ (४) बमोजिम नेपाल बिमा प्राधिकरणले छनौट गरि पठाएका २३ वटा स्थानीय तहमा २३ बटा बीमक कम्पनी खटाई निजी आवासको मूल्यांकन शुरु गरिएकोमा समयभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित विवरण पठाएका १५ वटा स्थानीय तहका १६ हजार ७२ घरको घर बीमा गरि पोलिसी जारी गरिएको हो । कार्यविधिको दफा ५ को २ बमोजिम प्रतिघर अधिकतमा २० लाखसम्मको मात्र प्रदेश सरकारले प्रिमियम व्यहोर्ने व्यवस्था रहेको र सो भन्दा माथि भए स्वयम धरधनीले व्यहोर्नुपर्ने जानकारी पनि सचिव शाहीले दिए ।
प्रिमियम वापत जम्मा रु ९८ लाख २४ हजार ८९३ भुक्तानी भएको पनि सचिव शाहीले बताए । यसैबीच आज आयोजित एक कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले कर्णाली प्रदेश विपद्को उच्च जोखिमको क्षेत्र रहेकोले नागरिकको सम्पत्ति सुरक्षाको लागि घरबीमा कार्यक्रम शुरु गरिएको बताए । उनले थोरै रकममा नागरिकको सम्पत्ती सुरक्षा हुने हुँदा प्रदेश सरकारले नविनतम कामको थालनी गरेको जानकारी पनि दिए ।
घर बीमा जस्तै प्रदेशमा कृषि, पशुु बीमा कार्यक्रमको प्रभावकारी सचालनको आवश्यकता औल्याउदै मुख्यमन्त्री कँडेलले सरकारले क्षतिपूर्ति दिनेभन्दा बीमा कार्यक्रममार्फत सुरक्षा अपनाउने काममा अग्रसरता लिन स्थानीय तहलाई ध्यानाकर्षण गराए । उनले भने, ‘थोरै रकमले नागरिकको बसोबासको सुरक्षा हुँदो रहेछ, क्षति भइसकेपछि सरकार गुर्हादै हिडनुभन्दा थोरै रकममा बीमा गराउने काममा तपाईहरुले सचेतना फैलाउनुुस ।’
कार्यक्रममा पालिकाहरुको तर्फबाट शारदा नगरपालिकाका उपप्रमुख सुुस्मिता सापकोटा, बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरी, बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारी, महाबै र्गाँउपालिका अध्यक्ष खेमबहादुर सिहलगायतले कर्णाली प्रदेश जस्तो विपद जोखिमको प्रदेशमा घर बीमा कार्यक्रममले नागरिकको सुरक्षामा थप बल मिलेको बताए । उनीहरुले प्रदेश सरकारले थालनी गरेको कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाको तर्फबाट आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए ।
मन्त्रालयका उपसचिव उत्तम गौतमले चालु आर्थिक वर्ष ०८२–०८३ मा घर बीमा कार्यक्रममा ३ करोड ५० लाख विनियोजन रहेको र अघिल्लो आर्थिक वर्ष घर बीमामा समाबेश नभएका स्थानीय तहलाई चालु आर्थिक वर्षमा समावेश गरिनेछ । कार्यविधिको दफा ४ बमोजिम घर बीमालेखले भूकम्पबाट हुने क्षति, अग्नीजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, खस्ने वा भासिने सम्बन्धी जोखिम, चट्याङ्गजन्य जोखिम, आकाशिय सामाग्रीजन्य जोखिम, धक्काजन्य जोखिम, स्वजलन सम्बन्धी जोखिम, बाढी तथा डुवावानबाट क्षतिग्रस्त घर, हुलदंगा तथा आतंकवादजन्य जोखिम तथा अन्य प्राकृतिक विपद्को कारणले क्षतिग्रस्त घर समेटने उल्लेख छ ।
सत्यपाटी