२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

साउनमा आधाले घट्यो मासु व्यापार, व्यापारी चिन्तित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १२ गते सोमबार

साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले बताएका छन् । विगत २० वर्षदेखि कलङ्कीमा मासु व्यापार गर्दै आएका सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछामासुको व्यापारमा आधाले कमी आएको छ । ‘अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल छ,’ उनले भने, ‘सोमवार त झन् अत्यन्तै कम सङ्ख्यामा बिक्री हुने गरेको छ ।’

महर्जनले विगत २० वर्षदेखि खसी र कुखुरा मासुको व्यापार गर्दै आएका छन् । गतका वर्षमा पनि साउन महिना लागेपछि माछामासुको व्यापार कमी हुने गरेको थियो । यस वर्ष भने अझै व्यापारमा कमी आएको उनले अनुभव सुनाए । साउन महिनालाई चोखो र पवित्रको महिना मानिन्छ । यस महिनामा व्रत बस्ने र माछामासु नखाने सर्वसाधारण बढेपछि मासुको कारोबार घटेको हो ।

‘अहिले बिहे, भोज लगायतका कार्यक्रम नहुँदा पनि त्यसको असर मासु व्यवसायमा परेको छ,’ उनी भन्छन्, ‘अहिले पसल सुनसान छ ।’ कलङ्कीको अर्का मासु व्यापारी देव रानाले पनि साउन महिनाले सामुको व्यापारमा विरावट आएको गुनासो गरे । असार महिनासम्म दैनिक ३० किलोसम्म सामु बेच्ने गरेका रानाले अहिले १५ किलो बिक्री हुन पनि मुस्किल रहेको सुनाए ।

हाल राजधानीका करिब तीन हजारको सङ्ख्यामा मासु व्यवसायी छन् । करिब एक हजारको सङ्ख्यामा सानाठूला पशुवधस्थल छन् । सानाठूला गरी राँगाभैँसीका करिब २५० वधस्थल छन् । पछिल्लो समय कामपामा मापदण्ड बमोजिम दर्ता नगरी माछामासु व्यवसाय सञ्चालन गर्नेहरूको हाबी रहेको कामपाको वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले जानकारी दिए ।

यसलाई थप व्यवस्थापन गर्नका लागि कामपाले नियमित रूपमा अनुगमन गरिरहेको उनको भनाइ छ । माछामासु व्यवसाय गर्नेहरू धेरैलाई यो व्यवसाय कसी गर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको झाको भनाइ छ । ‘बाह्रदेखि २५ घण्टाको यात्रामा उभ्याएर राख्ने, नाकमा डोरीले बाँधिएको, मुखबाट फिँज निस्केको र शरीरभरि काटिएका, डाम भएका अवस्थामा पशु गन्तव्यमा आइपुग्ने जस्ता विषय सामान्य ज्ञान नहुनुको परिणाम हो,’ झाले भने ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार