२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

कुकुरलाई सङ्गिनी सुई !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १२ गते सोमबार

महिलाले लगाउने गर्भनिरोधक सङ्गिनी सुई कुकुरलाई लगाइने गरेको पाइएको छ । पशु अधिकारको दृष्टिकोणले यो कार्य अपराध हुने भए पनि आफ्नो सजिलोका लागि अन्धाधुन्ध प्रयोग बढिरहेको छ ।

औषधी पसलमा सहजै पाइने र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्दा यसको प्रयोग बढेको हो, जसको कारणले कुकुरमा पाठेघर र क्यान्सरसम्बन्धी जटिल समस्या देखिन थालेको पशु स्वास्थ्यकर्मीले उल्लेख गरेका छन् ।

काठमाडौँ उपत्यकामा प्रत्येक १० घरमध्ये एक घरमा कुकुर पालिएको तथ्याङ्क छ । अज्ञानता र पशु प्राविधिकको गलत सल्लाहले महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन तीनमहिने सङ्गिनी सुई काठमाडौँ उपत्यकासँगै देशका प्रमुख शहरका कुकुर (पोथी)लाई लगाउने गरेको केन्द्रीय रेफरल पशु चिकित्सालयका डा.प्रकाश अधिकारीले बताए ।

उनले अस्पतालमा दैनिक उपचारका लागि ल्याइने कुकुरमध्ये धेरैमा पाठेघरको समस्या देखिएको र त्यो सङ्गिनी सुईको असर भएको दाबी गरे । पहिला पहिला कुकुरको पाठेघरमा समस्या एकदमै कम देखिने भए पनि पछिल्लो समय सङ्गिनी सुईको दुरुपयोगले समस्या बढेको जिकिर गरे ।

सङ्गिनी सुई कुकुरधनी स्वयंले लगाउन अनुरोध गर्ने गरेको र औषधी पसलमा सहजै उपलब्ध हुने भएकाले यसको दुरुपयोग बढ्दो रहेको उनले बताए । सङ्गिनी सुई नितान्त महिलाका लागि बनाइएको हुनाले कुकुरमा प्रयोग गर्नु दुरुपयोग हो । कुकुरमा यो सुईको प्रयोगले डिम्बाशयमा मासु (सिस्ट) पलाउने र पाठेघर सङ्क्रमण (पायोमेट्रा)को जोखिम बढाउँछ । साथै कुकुरले खाना पनि कम खान थाल्छ ।

पेट फुल्ने, रक्तअल्पता हुने, योनिबाट गन्हाउने फोहोर पदार्थ फाल्ने जस्ता लक्षण पनि कुकुरमा देखा पर्छन् । समयमा शल्यक्रिया उपचार नभए कुकुर मर्न सक्छ । हर्मोन असन्तुलनका कारण कुकुरको तौल बढ्ने र रौँ झर्ने जस्ता समस्या देखिन सक्छ । यो सुईको नियमित प्रयोगले स्तन ग्रन्थीको क्यान्सरको सम्भावना हुन्छ । कुकुरको अस्थायी परिवार नियोजनको कुनै पनि साधन नभएकाले अनावश्यक प्रजनन रोक्न सुरक्षित र स्थायी विधि कुकुरको बन्ध्याकरण गर्नु नै राम्रो हुने डा.अधिकारीले बताए ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार