२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

वैज्ञानिकहरूले पत्ता लगाए ‘कोरोना भाइरस’को औषधि !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १२ गते सोमबार

भारतका वैज्ञानिकहरूले कोरोना भाइरसको संक्रमण निको पार्ने फर्मुला र पुरानो औषधि ‘एसबी ४३१५४२’ पत्ता लगाएका छन् । यो औषधि कोरोना भाइरसविरुद्ध अत्यधिक प्रभावकारी भएको पाइएको दाबी गरिएको छ ।

लामो अनुसन्धानपछि उनीहरूले यस्तो औषधि पत्ता लगाएका छन्, जसले भाइरसलाई प्रतिरोधी क्षमता विकास गर्न नदिने बताइएको छ । परीक्षण गर्दा यो औषधिले ५० पटकको सम्पर्कमा पनि भाइरसले कुनै प्रतिरोध विकास गर्न नसकेको बताइएको छ ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) र भारतीय कृषि अनुसन्धान परिषद् (आइसीएआर)का वैज्ञानिकहरूले ‘एसबी ४३१५४२’लाई कोरोना भाइरसविरुद्ध अत्यधिक प्रभावकारी औषधिको रूपमा परीक्षण गरेका हुन् ।

नेसनल सेन्टर फर भेटेरिनरी टाइप कल्चर (एनसीभीटीसी), आइसीएमआरको राष्ट्रिय विषाणु विज्ञान संस्थान (एनआइभी) र बेल्जियमका वैज्ञानिकहरूले संयुक्तरूपमा यो अनुसन्धान सम्पन्न गरेका छन् । तथापि, यो अध्ययन हाल ‘बायो‑र्याक्सिभ’ जर्नलमा प्रि‑प्रिन्टको रूपमा प्रकाशित गरिएको छ ।

अझै अन्तिम स्वीकृति प्राप्त भएको छैन । तर, प्राप्त परिणामहरू अत्यन्त आशाजनक देखिएका छन् । यदि, यो औषधि मानवमा गरिने परीक्षणमा पनि सफल भएमा यो केवल कोभिड‑१९ नभई अन्य कोरोना भाइरसविरुद्ध पनि क्रान्तिकारी हतियार बन्न सक्ने बताइएको भारतीय सञ्चार माध्यम अमर उजालाले जनाएको छ ।

एनआइभीका निर्देशक डा.नवीनकुमारले यस औषधिले तीन फरक तहमा कोरोना भाइरसलाई रोक्ने काम गर्ने बताए । यसले शरीरमा टीजीएफ‑बिटा नामक प्रोटिनको मार्ग अवरुद्ध गर्छ, जसले भाइरसलाई कोशिकामा प्रवेश गर्न सहयोग पुर्याउँछ ।

भाइरसका ओआरएफथ्रीए प्रोटिनसँग बाँधिएर भाइरसको संयोजन प्रक्रिया अवरुद्ध गर्छ र खाँचो परेको अवस्थामा भाइरस संक्रमित कोशिकाहरू बाहिर निस्किनुअघि एपोप्टोसिस (कोशिका विनाश) प्रक्रियामा पनि हस्तक्षेप गर्छ ।

डा. कुमारका अनुसार, ५० पटकसम्म यस औषधिसँग लगातार सम्पर्क गराइए पनि भाइरसले कुनै प्रतिरोधी क्षमता विकास गर्न सकेन । यो उपलब्धि हालको रेमडेसिभिरको तुलनामा धेरै महत्वपूर्ण भएको बताइएको छ, जबकी रेमडेसिभिरविरुद्ध भाइरसले चाँडै नै प्रतिरोध विकास गर्न सक्छ ।

यो औषधि मुसाको भू्रणमा परीक्षण गर्दा कोरोना भाइरसविरुद्ध प्रभावकारी ठहरिएको छ । अनुसन्धानका प्रमुख लेखक डा.कुमारले भने, ‘सन् २०२० देखि हामीले कोरोना महामारीको सामना गरिरहेका छौँ र अब अर्को नयाँ अध्याय लेख्न गइरहेका छौँ ।’

एसबी ४३१५४२ ले भाइरसलाई सिधै मात्र नभई भाइरसले प्रयोग गर्ने मेजबान कोशिकाको कमजोरीहरूलाई समेत निशाना बनाउँछ । यसले भाइरसलाई प्रतिरोधी क्षमता विकास गर्ने अवसर दिन नदिने उनको भनाइ छ । चाँडै भारतका विभिन्न अस्पतालहरूमा मानवमा यसको परीक्षण सुरु गरिने पनि घोषणा गरिएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार