२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

एक वर्षमा दुई हजार ३६९ प्रहरीले दिए राजीनामा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १२ गते सोमबार

एक वर्षमा करिब २४ सय प्रहरीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका दुई हजार ३६९ प्रहरीले राजीनामा दिएका हुन् । प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकास लगायतमा देखिएको असन्तुष्टिको असर राजीनामामा देखिएको हो ।

कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको जनाएको हो ।

यसैगरी गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यालयमा अपराधका ५८ हजार ४७२ जाहेरी परेको छ । जसमा योजनबद्ध रूपमा व्यक्तिहत्या गरेको अभियोगमा मात्रै ५१० मुद्दा दर्ता भएका हुन् । अपहरणका १४२, मानव बेचबिखनका १५२ जबर्जस्ती करणीका २ हजार ३८७ रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

प्रहरीमा दैनिक रूपमा मात्रै १६० मुद्दा दर्ता हुने गरेको आइतबार पत्रकार सम्मेलन आयोजना गरी प्रहरी प्रवक्ता घिमिरेले जानकारी गराए । गत आर्थिक वर्ष आत्महत्या गर्नेको संख्या मात्रै ६ हजार ८५२ रहेको छ । साइबर अपाधका मुद्दा ११२ मुद्दा दर्ता भएको छ । यस वर्ष रेड नोटिस जारी भएका ३४ जना र विभिन्न देशबाट पक्राउ गरी ल्याइएका २० जना रहका छन् ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार