२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

बिरामी चापसँगै सेवा र पूर्वाधार विस्तार गर्दै भेरी अस्पताल

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन १२ गते सोमबार

विसं १९४७ मा वीर अस्पतालसँगै स्थापना भएको नेपालगन्जको भेरी अस्पताल सोमबार स्थापना भएको १३५ वर्ष पुग्दै छ । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले आमजनताको अस्पतालप्रति बढ्दै गएको विश्वासलाई निरन्तरता दिन अस्पताल विकास समिति र प्रशासन लागिपरेको बताए ।

अध्यक्ष शाहले भन्ने, ‘अस्पतालमा दैनिक आउने बिरामीको सेवा सुविधासँगै बिरामीको उपचारका लागि अन्यत्र जान नपर्ने गरी सेवा विस्तारको पहल भइरहेको छ ।’ भेरी अस्पतालमा कोभिड–१९ पछि बिरामीको चाप अत्यधिक बढ्न थालेको हो । यहाँ आउने बिरामीको सङ्ख्या दिनप्रतिदन बढ्दो क्रममा रहेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.नीराजन सुवेदीका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ मा दुई लाख छ हजार ६९० जना बिरामीले बहिरङ्ग उपचार सेवा प्राप्त गरेका छन् । आव २०८०–०८१ मा एक लाख ६२ हजार ७९८ जनाले बहिरङ्ग उपचार सेवा प्राप्त गरेकोमा गत वर्ष सेवाग्राहीको सङ्ख्या अधिक भएको हो ।

अस्पतालमा बहिरङ्ग सेवाका लागि आउने बिरामीले चिकित्सकको परीक्षणपछि अस्पतालबाट विभिन्न सेवा लिने गरेका छन् । अस्पतालको तथ्याङ्क अनुसार अस्पतालले मेडिसिन, सर्जरी, प्रसूति, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक, न्युरो लगायतका उपचार सेवा प्रदान गर्दै आएको छ । विभिन्न जटिल खालका शल्यक्रियासमेत यहाँ हुँदै आएको छ ।

यस अस्पतालमा लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतको उत्तर प्रदेशबाट समेत बिरामी सेवा लिन आउने गरेका छन् । अस्पताल विकास समितिका अध्यक्ष शाहले भेरीमा बढ्दो बिरामीको चापलाई हेरेर थप भौतिक पूर्वाधारसहित जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको बताए । सात शैय्याबाट सुरु भएको यो अस्पताललाई ५०० शैय्याको बनाउने योजनासहित कामलाई अघि बढाइएको अस्पतालले दाबी गरेको छ ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार