२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

सुविधाबाट वञ्चित अल्पसङ्ख्यक सुनाहा समुदाय

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ साउन १२ गते सोमबार

सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । तर अल्पसङ्ख्यक सुनाहा जातिको जातीय पहिचान सूचित नहुँदा अल्पसङ्ख्यक समूदायले प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का चन्द्रकला सुनाहा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्दा केटाकेटी पढाउन नसकेको बताउँछिन् । पछिल्लो समय पुर्ख्यौली पेसासमेत लोप भएपछि विकल्पका रूपमा यो समूदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेका छन ।

‘हाम्रो परम्परागत पेसा नदीमा सुन चालेर गुजारा गर्ने हो, नदीमा सुन नचालेको वर्षौँ भयो,’ उनले भनिन्, ‘अहिले हिउँदको छ महिना महाकालीमा गिट्टी बालुवा चाल्छौँ, वर्षातमा मजदुरी गरेर परिवारको जोहो गर्छौँ ।’ उनले आफ्नो जाति सूचिकृत नहुँदा राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरिन् ।

‘अहिलेसम्म हाम्रो जातीय पहिचान नै छैन, यसका लागि हामीले धेरै अनुरोध गर्यौैँ,’ उनले भनिन्, ‘जाति सूचिकृत नहुँदा अन्य अल्पसङ्ख्यक समूदायले जस्तो राज्यबाट पाइने सुविधाबाट वञ्चित छौँ ।’ बर्दिया र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समूदायले पटकपटक जातीय पहिचानका लागि सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको मेघादेवी सुनाहा बताँछिन् ।

उनले निर्वाचनका समयमा मत माग्न आउने उम्मेदवारले जातीय पहिचान दिलाउने प्रतिवद्धता गरे पनि हालसम्म पुरा नगरेको गुनासो गरिन् । कञ्चनपुरको भीमदत्तमा ८४ परिवार र बर्दियामा गरी करिब एक हजार १०० सुनाहाको जनसङ्ख्या छ ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार