२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

कुष्ठरोगीको आशंकामा ६ वर्षदेखि छाउगोठमा

सत्यपाटीसत्यपाटी । हुम्ला । २०८२ साउन ११ गते आइतबार

कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका हुम्ला सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी कामीको उद्धार गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले जानकारी दिए ।

उनले भने, ‘कामीको जिल्ला अस्पतालमा उपचार थालिएको छ । उनीलाई आफन्तले कुष्ठरोगी भनेता पनि कुष्ठरोग नभएको पुष्टि समेत भएको छ । तर उहाँको अन्य स्वास्थ्य परीक्षणपछि मात्र के रोग हो भन्ने पत्ता लाग्छ ।’ स्वास्थ्य सेवा कार्यालयले विरामी कामीको निःशुल्क उपचार गर्ने अस्पताल प्रमुख डा तिवारीले जानकारी दिए । उनका अनुसार कामीको खुट्टा र शरीरका केही भाग नचल्दा शारीरिक रूपले अपाङ्गता जस्ता भएका छन् । साथै हातखुट्टाका औँला बाङ्गो छन् भने हिँडडुल गर्न पनि कठिन छ ।

घरपरिवार एवं गाउँलेले अन्धविश्वासका कारण उनीलाई छाउगोठमा राखेका जनाइएको छ । छाउगोठमा बस्दा उनीले उचित उपचार र हेरचाहको अभाव झेल्दै आएका थिए । रातदिन चिसो, भोक र वेदनाका बीच जिउन बाध्य भएका कामीलाई केही राहत भएको आफन्त जसपाल कामीले बताए । उनको हेरचाहका लागि भाइहरूले प्रत्येक महिनाको पालो राखेका थिए । घरपरिवारले घरमै बस्न भने पनि गाउँलेहरूको डरत्रासले छाउगोठमा राख्नुपरेको परिवारका सदस्यले बताएका छन् ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार