२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

धान चामल खरिदमै ४० अर्ब बाहिरियो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ११ गते आइतबार

मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न सक्ने पर्याप्त सम्भावना भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा धान चामलका लागि ठुलो रकम बाहिरिएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–०८२ मा ४० अर्ब १८ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको छ । अघिल्लो आव २०८०–०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान चामल आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा झन्डै दोब्बर परिमाणले आयात बढेको छ ।

गत आवमा भारतले चामल निर्यातमा खुकुलो गरेकाले पनि आयात बढी भएको तथ्याङ्कले देखाएको छ । गत आवमा सबैभन्दा धेरै २१ अर्ब ५२ करोड २७ लाख ८४ हजार रुपैयाँ बराबरको ५३ करोड ३७ लाख १५ हजार २५९ केजी धान आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आवमा १२ अर्ब ९४ करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको ३२ करोड ११ लाख १९ हजार ३१३ केजी धान आयात भएको थियो । यस्तै गत आवमा १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार रुपैयाँ बराबरको २४ करोड १५ लाख ५३ हजार ३२५ केजी चामल आयात भएको विभागको तथ्याङ्क छ ।

गतवर्ष सो अवधिमा नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपैयाँ बराबरको आठ करोड ८७ लाख २३ हजार ५०६ केजी चामल आयात भएको थियो । यस्तै आव २०७९–०८० मा ३६ अर्ब ५० करोड बराबरको धान चामल आयात भएको थियो भने गत आवमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको आवश्यक पर्ने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने गरेको तथ्याङ्कले छ । मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले भारतले धानचामल निर्यातमा खुकुलो गर्दा गत आवमा नेपालमा आयात बढेको जानकारी दिए ।

‘अघिल्लो वर्ष भारतले चामल निर्यातमा कडाइ गर्दा आयात कम भएको थियो,’ उनले भने, ‘स्थानीय उत्पादनले माग धान्न नसक्दा र मसिनो बास्नादार चामलको प्रयोग धेरै हुन थालेपछि यस वर्ष दोब्बरले धानचामल आयात बढेको छ ।’ पछिल्लो समय खेतीयोग्य जमिन पलटिङ गरी घडेरीमा प्रयोग हुँदै गएको र काम गर्ने युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले माग अनुसार खाद्यान्न उत्पादन हुन सकेको छैन ।

प्रतिव्यक्ति प्रतिवर्ष १३३ केजी चामल आवश्यक पर्ने गर्छ । मन्त्रालयका अनुसार वार्षिक छ लाख मेट्रिक टन चामल अपुग हुने गर्छ । भन्सार विभागका अनुसार छिमेकी मुलुक भारत, चीन, अर्जेन्टिना, साउथ अफ्रिका, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड, मलेसिया लगायतका देशबाट नेपालमा खाद्यान्न आयात हुने गर्छ ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार