२०८३ असार १३ , शनिबार 28, June 2026, Sunday

चितवनमा लोडसेडिङ्ग, ६ घण्टा विद्युत् अवरुद्ध

सत्यपाटीसत्यपाटी । चितवन । २०८२ साउन ११ गते आइतबार

लामो समयपछि चितवनमा पुनः लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले भरतपुरस्थित १३२–३३ केभी सब–स्टेशन अन्तर्गतका तीन वटा मुख्य फिडरमा अत्यधिक लोड परेको जनाउँदै नियमित रूपमा विद्युत आपूर्ति अवरुद्ध गर्ने तालिका सार्वजनिक गरेको छ ।

असहज गर्मी र वर्षा नपरेका कारण माग अत्यधिक बढेको भन्दै प्राधिकरणले समय अनुसार बत्ती जाँदै आउने जनाएको हो । नारायणी, मेघौली र जगतपुर क्षेत्रका विभिन्न स्थानमा बिहानदेखि रातिसम्म विभिन्न समयमा विद्युत आपूर्ति रोकिने तालिका जारी भएपछि स्थानीयवासी आक्रोशित भएका छन् ।

दैनिक जीवन प्रभावित हुनुका साथै व्यवसाय, उद्योग र स्वास्थ्य सेवामा समेत यसले समस्या निम्त्याएको छ । स्थानीय बासीन्दाहरूले यस्तो कटौतीले गर्मीमा झनै कष्टकर अवस्था बनाएको गुनासो गरेका छन् । स्थानीय व्यवसायीहरूले पनि बिना पूर्वतयारी गरिएको लोडसेडिङले व्यापार र सेवा प्रवाहमा असर परेको भन्दै चाँडो समाधान खोज्न आग्रह गरेका छन् ।

यद्यपि प्राधिकरणले तोकिएको समयभन्दा अगाडि नै विद्युत आपूर्ति हुन सक्ने जानकारी दिएको छ, तर नियमित सेवा प्रवाह नहुँदा जनमानसमा असन्तुष्टि बढ्दै गएको छ । उपभोक्ताहरूले लोड व्यवस्थापनका वैकल्पिक उपाय अवलम्बन गर्न र दीर्घकालीन समाधानतर्फ ध्यान दिन सरकार तथा प्राधिकरणलाई आग्रह गरेका छन् ।

चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । अत्यधिक गर्मी र रोपाइँको समयमा अकासे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत् आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो ।

उनका अनुसार १३२–३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड ४५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भन्दै आज एक दिनका लागि तालिका सार्वजनिक गरिएको हो । उनले एक हप्ताभित्र विद्युत् लोड व्यवस्थापनमा आएको समस्या समाधन गरिने बताए ।

वितरण केन्द्र चनौली अन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । विद्युत् माग बढेर ३३ केभी डगकन्डक्टर तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिए ।

तालिका अनुसार नारायणी–माडी फिडरहरूमा बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म, मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । यस्तै जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ देखि ३ र बेलुका ९ देखि १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार