देशका केही स्थानमा आइतबार (साउन ११) भारी वर्षाको पूर्वानुमान छ । दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन देशभर साधारणतया बदली (बादल र वर्षा) रहने महाशाखाको बुलेटिनमा उल्लेख छ । ‘देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ ।
मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
‘कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ ।
बझाङमा बौलीगाड खोलामा बाढी
बझाङमा बौलीगाड खोलामा आइतबार (साउन ११) बिहान बाढी आएको छ । बौलीगाडको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीको बहाव बढ्दो क्रममा छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
‘साउन ११ गते, बिहान ०२ः५५ बजे । बझाङ जिल्लास्थित बौलीगाड खोला जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,’ विभागको सूचनामा भनिएको छ ।
चमेलिया नदीमा बाढी
दार्चुलामा आइतबार (साउन ११) बिहान चमेलिया नदी सतर्कता तह पार भएको छ । नदीको जलसतह अझै बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी तटीय क्षेत्र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
‘साउन ११ गते, बिहान ०३ः३० बजे । दार्चुला जिल्लास्थित चमेलिया नदी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,’ विभागको सूचनामा उल्लेख छ ।
सत्यपाटी