२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

कालाफाँटा स्वास्थ्य चौकीमा जोडियो सोलार, प्रसुति सेवा सहज

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन १० गते शनिबार

बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित कालाफाँटा स्वास्थ्य चौकीमा सोलार जडान गरिएको छ । सोलार जडानपश्चात् २४ घण्टा प्रसुति सेवा सञ्चालनमा सहज हुने भएको छ । स्वास्थ्य चौकीमा सोलार जडान भएपछि अनियमित विद्युत् आपूर्ति हुँदा भइरहने समस्याको समाधान भएको र अब २४ घण्टा प्रसूति सेवासमेत सहज रुपमा सञ्चालन गरिने जनाइएको छ ।

कालाफाँटा स्वास्थ्य चौकीका इन्चार्ज महम्मद तैयब राइमले भने, ‘बत्तीको लोडसेडिङ तथा विद्युत् आपूर्तिमा अनियमित्ता हुँदा समस्या हुँदै आएको थियो, विशेषतः प्रसूति सेवा सञ्चालनमा समस्या हुने गथ्र्यो । अब सोलार जडान भएको छ, विद्युत् अनियमित्ताबाट हुने सबै समस्याहरू हल भएका छन्, विशेषगरी प्रसूति सेवा अब २४ घण्टा उपलब्ध गराउँछौँ ।’

‘बत्ती थियो, ब्याकअप थिएन, भएको पुरानो ब्याकअप पनि बिग्रेको थियो, बत्ती छिन–छिनमा जाँदा नियमित विद्युत आपूर्तिमा समस्या थियो,’ उनले भने, ‘अब भने बत्ती गए पनि समस्या हुँदैन्, सोलारको नियमित सञ्चालनले विद्युत्सम्बन्धी कुनै समस्या नहोला ।’ स्वास्थ्य चौकीमा रहेको फ्रीज र प्रसुति सेवाका उपकरण नियमित सञ्चालनका लागि अब सोलार जडानपछि नियमित बत्ती आपूर्ति हुने र प्रसुति सेवा, इरिपोर्टिङ, इएलएमस रिपोर्टिङ, इ–हाजिरी लगायत अन्य सबै सेवाहरू सञ्चालनमा सहज हुने उनको भनाइ छ ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसी ‘नमुना’ले वैकल्पिक ऊर्जाका लागि पाँच लाख रुपैयाँको बजेट विनियोजन गरेको र सोही रकमबाट ३.७५ किलोवाट क्षमताको सोलार जडान गरिएको स्वकीय सचिव सूर्यप्रकाश घर्तीमगरले जानकारी दिए । ऊर्जा विकास कार्यालयमार्फत् सोलार जडान भएको छ । त्यसैगरी राप्तीसोनारी र नरैनापुरका विभिन्न स्वास्थ्य संस्थाहरुमा पनि सोलार जडानको काम भइरहेको स्वकीय सचिव घर्ती मगरले जानकारी दिए ।

उनका अनुसार नरैनापुर–२ स्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्र, नरैनापुर–६ स्थित गङ्गापुर स्वास्थ्य चौकी, राप्तीसोनारी–६ स्थित कमैयाडाँडा स्वास्थ्य चौकी, राप्तीसोनारी–८ स्थित शमशेरगन्ज बर्थिङ सेन्टर र राप्तीसोनारी–९ स्थित ढकेरी स्वास्थ्य चौकीमा समेत सोलार जडानको काम भइरहेको छ । उक्त स्वास्थ्य संस्थाहरुमा प्रतिसोलार ७ लाख रुपैयाँ बजेटका ७.२ किलोवाट क्षमताका सोलार जडान भइरहेका छन् । सबै स्वास्थ्य संस्थामा सोलार जडानपश्चात् विद्युतजन्य समस्याबाट मुक्त भइ नियमित रुपमा स्वास्थ्य सेवा सहज सञ्चालन हुने र सेवाग्राहीले स्वास्थ्य सेवा लिनमा कठिनाइ नहुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार