दैलेख घर भई नेपालगन्जको विपी चोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेटरको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको छ । नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत ३५ वर्षीय प्रकाश सुनारले निर्मलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता दीपक पतालीले जानकारी दिए ।
डिएसपी पातलीका अनुसार बेलासपुरस्थित कोठामा निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी शवलाई कोठामा बन्द गरेर फरार भएका थिए । स्थानीयका अनुसार उनीहरू विगत १२ वर्षदेखि उक्त स्थानमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । हत्या आरोपमा बर्दिया घर भई नेपालगन्जकै स्वस्तिक कटेजमा कार्यरत प्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार, बुधबार राति हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई फोन गरेर ‘तिम्रो दिदीलाई मैले मारेँ’ भनेका थिए । त्यसपछि बिहीबार राति करिब २ बजे उनी आफैं जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आफूले निर्मलाको हत्या गरेको जानकारी प्रहरीलाई गराएपछि घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।
घटनाको एक दिनपछि प्रकाशले मृतकका परिवारलाई फोन गरेर आफूले निर्मलाको हत्या गरेको खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयमा फोन गरेर निर्मलाको हत्या आफूले गरेको स्वीकार गर्दै आत्मसमर्पणका लागि प्रहरी कार्यालयमा आउन लागेको जानकारी गराएका थिए । प्रहरी घटनास्थल पुगेपछि निर्मलाको शव कोठामा फेला पारेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय आउँदै गरेका प्रकाशलाई प्रहरीले धम्बोझी नजिकबाटै नियन्त्रणमा लिएको थियो । अभियुक्त प्रकाशले दिएको सूचनाका आधारमा उनीहरू बस्दै आएको डेरामा प्रहरी पुगेर मृतक निर्मलाको शव फेला पारेको थियो । निर्मलाको परिवार नेपालगन्ज पुगेपछि शवको पोस्टमार्टम शुक्रबार बिहान मात्र गरिएको प्रहरीले जनाएको छ ।
‘अभियुक्त प्रकाशले निर्मला मेरो कान्छी श्रीमती हो भन्ने बयान दिएको छ, हत्या गर्नुको एकिन कारण अहिलेसम्म खुलेको छैन, अनुसन्धान प्रक्रिया अघि बढेको छ,’ डिएसपी पतालीले भने । प्रकाश विवाहित रहेको र उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामै बस्ने गरेको जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सत्यपाटी