काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र नीजि सम्पत्तिबाहेक सार्वजनिक स्थलहरु धुम्रपान निषेध गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गत असार ३२ गते सम्पन्न भएको नगरसभाबाट महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागू गर्न श्रावण ९ गतेदेखि महिनाभर प्रचारप्रसार गर्ने र भदौ १ गतेबाट जरिवानामा जाने जानकारी दिए ।
उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५०० जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको पनि जानकारी दिए । नगर प्रहरी प्रमुख पाण्डेले भने, ‘काठमाडौं महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट केही महत्वपूर्ण ऐनहरु पास भएका छन् । जसअन्तरगत प्रशासनिक दण्ड जरिवाना र जफत शिर्षकमा केही जरिवानाहरु पास भएका छन् ।’
विशेषगरी महानगरपालिकाभित्र कुनै पनि सार्वजनिक स्थलहरु सडकदेखि लिएर नीजि सम्पत्ति बाहेकका क्षेत्रमा धुम्रपान निषेध गरिएको छ । उनले भने, ‘त्यो स्थानहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५०० जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय भएको छ । महानगरपालिकाभित्र यसलाई व्यापक रुपमा प्रचार गर्दैछौं । आज श्रावण ९ गतेदेखि यो महिनाभर प्रचारप्रसारको काममा लाग्नेछौं र भदौ १ गतेबाट जरिवानामा जादैछौं ।’
नगर प्रहरी प्रमुख पाण्डेले सुरुमा बुझाउने र नमानेको खण्डमा जरिवाना तिराउने गरि अगाडि बढ्ने बताए । यसको साथै, उनले तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ् गरेमा सबै किसिमका तीन पांग्रे सवारी साधन मोटरसाइकल, स्कूटरलाई एक हजार, सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान)लाई २५ सय, सबै किसिमका मझौला सवारी साधन (मिनीबस, मिनीट्रक आदि) लाई ३५ सय जरिवाना तिराउने निर्णय पनि भएको बताए ।
उनका अनुसार सबै किसिमका ठूला सवारी साधन (बस, ट्रक, लहरी आदि)लाई ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय छ । उनका अनुसार पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्बजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री बितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ भने गल्ती दोहोरिएमा प्रतिपटक दोब्बर हुने निर्णय पनि भएको छ ।
सत्यपाटी