२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

अबदेखि स्वास्थ्य बिमा नविकरण नगरे १७ हजारसम्म जरिवाना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ९ गते शुक्रबार

अबदेखि एकपटक स्वास्थ्य बिमा गरेपछि अर्कोपटक समयमानै नविकरण नगरे बिमितहरूले चारगुणासम्म जरिवाना तिर्नुपर्ने भएको छ । हालै मात्र स्वास्थ्य बिमा बोर्डले जारी गरेको स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८२ अनुसार बिमितहरूले एकपटक स्वास्थ्य बिमा गरेर एक वर्षभरीको सेवा लिएपछि अर्कोपटक सेवा लिनका लागि समयमानै नविकरण नगरे जरिवाना तिर्नुपर्ने भएको हो ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार एकपटक बिमा गरेर एक वर्षको सुविधा लिने र त्यसपछि समयमानै नविकरण नगरेर बीचमै छाड्ने प्रवृत्ति बढेपछि बिमा म्याद सकिएको तीन महिना भित्रमा नवीकरण नगरे जरिवाना तिर्नुपर्ने नियम ल्याइएको बताए ।

बोर्डका सूचना अधिकारी मल्लले भने’सुरुमा एकपटक स्वास्थ्य बिमा गर्ने अनि एक वर्षसम्म सुविधा लिने तर त्यसपछि बिमा नविकरण नगर्ने र बीचमै छाड्ने प्रवृत्ति बढ्दै गएपछि म्याद सकिएको तीन महिनाभित्र नविकरण नगरे त्यहीबाट ३५० देखि तीन वर्षपछि १७ हजार ५०० रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था ल्याएका हौँ ।’

बिमाको म्याद सकिएको ६ महिनापछि नविकरण गर्दा चार हजार ५५०, ६ महिनादेखि एक वर्षभित्र गर्दा पाँच हजार २५० रुपैयाँ, एक वर्षपछि नवीकरण गर्दा भने ७ हजार, दुई वर्षपछि नवीकरण गर्दा १० हजार ५०० रुपैयाँ र तीन वर्षसम्म १४ हजार र तीन वर्षपछि १७ हजार ५०० रुपैयाँ जरिवाना तिर्नुपर्ने बिमाको नियम हालै स्वीकृत भएको नविकरण सम्बन्धी कार्यविधिमा उल्लेख गरिएको मल्लले बताए । २०७२ चैतदेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा पछिल्ला वर्षहरुमा बिमा नविकरण गर्ने संख्या उच्च रहेको छ ।

गएको आर्थिक वर्षमा मात्रै ५४ प्रतिशत बिमितहरूले बिमा नविकरण नगरी छाडेका थिए । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको स्वास्थ्य बिमा कार्यक्रममा हाल पाँच जनासम्मको परिवारले वर्षमा ३ हजार ५०० रकम तिरेर वार्षिक एक लाखसम्मको सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था रहेको छ । नवीकरण गर्ने सम्बन्धी कार्यविधि बिमा बोर्डको गत असार २४ गतेको बैठकले नै स्वीकृत गरिसकेको मल्लले बताए । उनका अनुसार यो नियम भने यही साउनदेखि बिमा गर्ने बिमितहरूलाई लागू हुने बताए ।

‘यो नियम आगामी कार्तिक एक गतेदेखि लागू हुन्छ यस बीचमा हामीले बिमितहरूलाई यसबारेमा जानकारी दिने काम गर्छौँ तर बुझ्नु पर्ने अर्को महत्वपूर्ण कुरा के छ भने समयमा नै बिमा नविकरण नगर्नेलाई जरिवाना मात्रै होइन हामीले नियमित समयमा नै नियमित नविकरण गर्ने बिमितहरूका लागि को–पेमेन्टमा छुट पनि दिने भएका छौँ,’ बोर्डका सूचना अधिकारी मल्लले भने ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार