अकबरे खुर्सानी भोजपुर किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुसार्नीखेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु दुईदेखि चार सयसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको बताए ।
उत्पादन भएको खुर्सानीको बजारमा राम्रो माग रहेकाले आफू यसतर्फ लोको उनको भनाइ छ । कृषक नभराज फुयालले खुर्सानी बजारको कुनै समस्या नरहेको र ठेकेदारले बारीबाट किनेर लैजाने गरेको सुनाए । ‘अकबरे खुर्सानी बोखिम क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको श्रोत बनेको छ । बजारको झण्झट पनि छैन । मूल्य पनि राम्रै छ । त्यसले हामी यसमा आकर्षित भएका हौँ,’ उनले भने ।
भोजपुरको पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोलमा खुर्सानीको व्यावसाियक खेती भइरहेको छ । गाउँपालिकाले व्यावसायिक खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमले खेती विस्तारमा सहयोग गरेका कारण यहाँको करिब पाँच सय हेक्टर क्षेत्रमा किसानले खुर्सानी खेती गरिरहेका कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए ।
समग्रमा पालिका क्षेत्रमा करिब ९०० कृषकले व्यावसायिक अकबरे खुर्सानीखेती गरिरहेका छन् । खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका उनले बताए । पौवादुङमाका एक किसानले न्यूनमत रु एक लाख ५० हजारदेखि रु सात लाखसम्म खुर्सानीखेतीबाट भित्र्याउने गरेको पौवादुङमा—४ बास्तिमका ध्रुव राईले जानकारी दिए ।
‘खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि मैले पनि २० रोपनीमा खुर्सानी विस्तार गरेको छु । यो वर्ष रु आठदेखि दश लाख आम्दानी गर्ने लक्ष्य छ,’ उनले भने, ‘१२ रोपनी क्षेत्रमा विस्तार गरेको खुर्सानीखेतीबाट गत वर्ष रु पाँच लाख आम्दानी गरेको थिए ।’ गत आर्थिक वर्षमा ६०० हेक्टर क्षेत्रमा लगाइएको करिब रु २५ करोड बराबरको खुर्सानी बिक्री भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्र प्रमुख मुकेशकुमार यादवले यस वर्ष जिल्लाभर ६०९ हेक्टर क्षेत्रफलमा खुर्सानीखेती भइरहेको बताए ।
‘खेती विस्तार भइरहेको छ । रोग, किराको प्रकोप नियन्त्रण गर्न सकिएमा यस वर्ष रु.२८ देखि २९ करोडको हारहारीमा खुर्सानी उत्पादन हुने आँकलन छ,’ उनले भने । यहाँका पौवादुङमा गाउँपालिकामा अकबरेको बढी खेती भइरहेको छ भने भोजपुर नगरपालिका र अरुण गाउँपालिकालगायत क्षेत्रमा पनि खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित खुर्सानी ठेकेदारमार्फत धरान, इटहरी, विराटनगर, झापा, विर्तामोड, काठमाडौँ लगायत सहरमा पुग्ने गरेको छ ।
सत्यपाटी