भक्तपुरको बोडेस्थित सिन्टीटारमा मृत भेटिएका दिदीबहिनी भारतको महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट ३ साताअघि भागेर भक्तपुरमा आएको खुलेको छ । उनीहरू बिहीबार बिहान पौने ७ बजेतिर शंकास्पद अवस्थामा मृत भेटिएका थिए ।
मृत भेटिनेमा सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएका १६ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १३ वर्षीया सिर्जना कँडेल छन् । उनीहरूको स्थायी ठेगाना भने सुर्खेतको पञ्चपुरी नगरपालिका–८ हो । प्रहरीका अनुसार उनीहरू स्थानीय चक्रधर प्रजापतिको घरमा डेरा लिएर बस्दै आएका थिए ।
आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो । फलामको डन्डीमा नाइनलको डोरी घुसाएर दुईतर्फको टुप्पाले घाँटीमा पासो लागेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।
भारतबाट भक्तपुरमा आए लगत्तै डेरा खोज्न जाँदा उनीहरूले भनेका थिए, ‘यहाँ कलेज पढ्छौँ ।’ मुम्बईमा अभिभावकलाई कम्प्युटर कक्षा जान्छौँ भनेर हिँडेका उनीहरू नफर्किएपछि सुरुमा अभिभावकले भारतीय प्रहरीलाई जानकारी गराएका थिए । पछि दिदी बहिनीले बाबुआमालाई म्यासेज गरे ।
आमा उमा कँडेलका अनुसार भ्वाइस म्यासेज पठाएर उनीहरूले भनेका थिए, ‘हामी बैंगलोर गयौं, पैसा कमाएपछि आउँछौँ ।’ मृत फेला परेका उनीहरूले गएराति टिकटक पनि बनाएको भेटिएको छ । यस्तै घटनास्थलमा मोबाइल फेला परेको छ । यस्तै उनीहरूले किन मृत्युको बाटो रोजे भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
घटनापछि मृतक दिदी बहिनीका बुवा वासुदेव कँडेल काठमाडौँ आउँदै छन् । अभिभावक आएपछि मुचुल्का गरेर शव पोस्टमार्टम गर्न अस्पताल पठाइने डीएसपी नेउपानेले बताए । उनले भने, ‘हामीले घटनास्थल सुरक्षित राखेका छौं ।’ प्रहरीले उनीहरूको शव उठाएको छैन ।
आफन्तले मृतकका बाबुआमा आएपछि मात्रै शव उठाउनु भनेपछि घटनास्थल सुरक्षित गरेर राखिएको प्रवक्ता नेउपानेले बताए । मृतक किशोरीका बाबुआमाले भने आफ्ना छोरीहरूलाई कसैले होटलमा काम लगाएको आरोप लगाएका छन् । मृत्युको खबर पाउनुपूर्व उनीहरू छोरीहरूको खोजी गर्दै भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए ।
सिगास अनलाइन टेलिभिजनमा कुराकानी गर्दै किशोरीका बाबुआमा (वासुदेव, उमा)ले सीसी क्योमरा नभएको ठाउँमा होटल साहुजीले काम लगाउने गरेको बताएका थिए । यस्तै उनीहरूले किन मृत्युको बाटो रोजे भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
सत्यपाटी