रुसको साइबेरिया क्षेत्रमा एक यात्रुबाहक विमान बेपत्ता भएको छ । स्थानीय समय अनुसार बुधबार रातिदेखि उक्त विमानको रुसी हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क टुटेको छ । सो क्षेत्रका गभर्नर भिसाली ओर्लोभले प्रारम्भीक जानकारी अनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाएका छन् ।
विमानमा पाँच जना बालबालिका पनि रहेको जनाइएको छ । प्रारम्भिक जानकारी अनुसार, अंगारा एयरलाइन्सद्वारा सञ्चालित एएन-२४ विमान रुस–चीन सीमा नजिकैको अमूर क्षेत्रतर्फ उडान गरिरहेको थियो । साइबेरियामा सञ्चालन हुँदै आएको अङ्गरा एअरलाइन्सको विमान एक्कासी रडारबाट बेपत्ता भएको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
विमान चीनसँग सीमा जोडिएको अमूर क्षेत्रको टिन्डा सहरका लागि उडेको थियो । विमानको अन्तिम सम्पर्क टिंडा विमानस्थलबाट केही किलोमिटर टाढा रहेको बेला राति १० बजेको आसपासमा भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । खराब मौसमका कारण सम्पर्क टुटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
रुसी आपतकालीन सेवा र हवाई खोजी टोलीले विमानको खोजी कार्य तीव्र पारेका छन् । साइबेरियाको दुर्गम जंगल, पहाडी क्षेत्र, र घना कुहिरोसहितको वर्षाले खोजी कार्यमा ठूलो चुनौती थपिएको अधिकारीहरूले बताएका छन् । मौसम विभागका अनुसार, अमूर क्षेत्रमा बाक्लो कुहिरो र लगातार वर्षा भइरहेको छ, जसले खोजी कार्यलाई जटिल बनाएको छ ।
स्थानीय प्रशासनले विमानमा सवार यात्रुहरूका परिवारलाई सूचित गरिसकेको छ र उनीहरूको सहयोगका लागि हटलाइन स्थापना गरेको छ । प्रशासनले भनेको छ, ‘हामी सबै सम्भावित क्षेत्रमा खोजी गरिरहेका छौं र यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं ।’ घटनाको कारणबारे अनुसन्धान सुरु भएको छ, तर हालसम्म कुनै ठोस जानकारी प्राप्त भएको छैन ।
विशेषज्ञहरूले विमानको सम्भावित क्र्यास ल्यान्डिङ वा प्राविधिक खराबीको आशंका गरेका छन् । रुसी सञ्चारमाध्यम तासका अनुसार, अमूर क्षेत्रको जटिल भू–बनोट र प्रतिकूल मौसमले विमान उडानका लागि जोखिमपूर्ण मानिन्छ । रुसमा विमान बेपत्ता हुने र दुर्घटनाका घटनाहरू यसअघि पनि भएका छन् । सन् २०२१ मा कमचट्का क्षेत्रमा भएको ब्ल–२६ विमान दुर्घटनामा २८ जनाको ज्यान गएको थियो ।
सत्यपाटी