२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

पानी परिरहँदा पनि किन हुन्छ पसिना चुहिने गर्मी ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ८ गते बिहीबार

मनसुन सिजन चलिरहे पनि केही समययता भारी वर्षा भएको छैन । केही प्रदेशका एकाध स्थानमा भारी वर्षा भए पनि धेरै स्थानमा भारी वर्षा हुन सकेको छैन । मनसुनी वायु कमजोर हुँदा अपेक्षित वर्षा हुन सकेको छैन । दक्षिणी तराईमा यो वर्ष मनसुनमै खडेरी लागेको छ । पानी नपर्दा धान रोपाईं हुन सकेको छैन ।

मधेस प्रदेशलाई संघीय सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मधेस प्रदेशले एक महिनाभन्दा अगाडि नै सुक्खा क्षेत्र घोषणा गरिसकेको छ । तर, मधेस प्रदेश मात्रै होइन अलिअलि पानी परिरहेका प्रदेश र स्थानमा पनि गर्मी भने उत्तिकै छ । पानी परिरहेकै अवस्थामा र पानी रोकिएपछि पनि गर्मी हुने गरेको छ ।

पानी पर्ने सिजन र पानी परिरहेकै समयमा कसरी गर्मी हुन्छ ? हावामा अद्रता उच्च हुने कारण पानी परिरहको समयमा गर्मी हुने गरेको मौसमविद् सरोज पुडासैनी बताउँछन् । ‘वायुमण्डलमा यो सिजनमा हावामा आद्रता बढी हुन्छ । हावामा जति धेरै आद्रता हुन्छ, त्यति नै गर्मी हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले यो मौसममा एक–दुई डिग्री तापक्रम बढे पनि धेरै गर्मीको अनुभव हुन्छ । तापक्रम उच्च डिग्री सेल्सियस नभए पनि गर्मीको महसुस हुन्छ ।’

पानी परिरहेको समयमा थोरै कम गर्मीको महसुस भए पनि रहेपछि फेरि गर्मीको अनुभूत हुने उनको भनाइ छ । ‘पछिल्लो समय आइसोलेटेड अथवा कही ठाउँमा मात्रै वर्षा भइरहेको हुन्छ, यसले पनि धेरै ठाउँमा गर्मी भइरहेको हुन्छ,’ मौसमविद् पुडासैनीले भने । यद्यपि, केही दिनदेखि तापक्रम बढिरहेको उनी बताउँछन् । ‘सोमबारको तुलनामा मंगलबार देशभर औसतमा एकदेखि दुई डिग्री तापक्रम बढेको छ,’ उनले प्रष्ट पारे ।

मौसमविद् मीनकुमार अर्याल मनसुन सिजनमा सुक्खा तातो मात्र नभएर जलवाष्प पनि तातो हुनु गर्मी हुनुको मुख्य कारण भएको बताउँछन् । ‘अरु सिजनमा सुक्खा तातो मात्र हुन्छ । मनसुनमा जलवाष्प पनि तातो हुन्छ,’ मौसमविद् अर्याल भन्छन्, ‘बाहिरको तातो पनि हुन्छ र वायुमण्डलमा रहेको जलवाष्पयुक्त हावा पनि तातो हुन्छ, यो नै यो सिजनमा गर्मी हुनुको कारण हो ।’

वायुमण्डलमा ओसिलो हावा हुने र पानीको मात्रा रहेको उक्त हावा पनि तातो हुँदा ‘उकुसमुकुस’ गर्मी हुने उनी प्रष्ट पार्छन् । वायुमण्डलमा ठूलो मात्रामा पानी हुने र त्यसलाई सूर्यको किरणले तताउँदा थप गर्मी हुने गरेको उनी बताउँछन् । ‘ तातो ढुंगामा अथवा आगोमा हाल्दा त्यसबाट आउने बाफले जसरी छेउमा रहेको मान्छेलाई पोल्छ, अहिलेको सिजन त्यस्तै हो,’ मौसमविद् आर्याल भन्छन् ।

उनका अनुसार वायुमण्डलमा रहेको पानीलाई सूर्यको किरणले तताउने भएकाले मनसुनमा तापक्रम आफैँमा बढी हुन्छ । त्यसैले यो सिजनमा पानी परिरहेका बेला पनि गर्मी हुन्छ । तापक्रम २८ डिग्री सेल्सियस मात्रै छ भने पनि वायुमण्डलमा रहेको जलवाष्पयुक्त हावा तातेकाले गर्मी धेरै हुने उनको भनाइ छ । ओसिलो हावा तातेकाले बढी गर्मी भएको हो ।

मनसुन सिजनमा काठमाडौंमा सामान्यतया ३०–३१ डिग्री सेल्सियस तापक्रम रहँदा ३३–३४ डिग्री सेल्सियस तापक्रम रहँदाभन्दा बढी गर्मीको महसुस हुने गरेको उनी बताउँछन् । ‘बाहिर वायुमण्डलमा जलवाष्पयुक्त हावा धेरै हुन्छ । त्यसैले बाहिर सुक्खा हुँदैन । शरीर सुक्खा नहुने भएकाले पसिना जति जानुपर्ने हो त्यति जाँदैन,’ मौसमविद् अर्याल भन्छन्, ‘यही कारण हामीलाई गर्मीको महसुस धेरै हुन्छ, उकुसमुकुस हुन्छ ।’

अहिलेको सिजनमा पानी परेपछि मौसम सफा हुने र सूर्यको किरण सिधा आउने भएकाले जमिनमा रहेको पानीलाई तताउँछ । त्यसको बाफ पनि वायुमण्डलमा रहेको तातो वाष्पमा मिसिँदा धेरै गर्मी हुने गरेको उनले प्रष्ट पारे । पानीले मौसम सफा हुँदा वायुमण्डलमा ‘पोलुसन’ नहुँदा मनसुन सिजनमा पोल्नेगरी घाम लाग्ने र त्यसले पनि गर्मी बढी हुने उनी बताउँछन् ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार