खेतीपातीको समयमा बिद्युतको भोल्टेज न्युन भएर खेतमा पानी तान्न जडान गरिएको मोटर नचलेपछि रोपाइ प्रभावित भएको बाँके नरैनापुरका किसानले गुनासो गरेका छन् । धान रोपाइको समयमा पर्याप्त वर्षा नभएपछि मोटरबाट पानी तानेर रोपाइ गर्न खोज्दा बिद्युतको भोल्टेज न्युन भई मोटर नचल्दा रोपाइ गर्न नसकिएको नरैनापुर–२ का किसान सुन्दर यादवले बताए ।
उनका अनुसार बिद्युतको भोल्टेज न्युन हुँदा पानी तान्ने मोटर चलेन । धान रोपिसकेका र रोपाइ गर्न चाहने दुबै थरिका किसानलाई पानी आवश्यक परेको बेला मोटरबाट तानेर खेतमा पानी लग्न खोज्दा बिद्युतको समस्याले मोटर नचलेपछि किसानलाई पीडा भएको नरैनापुर २ का अर्को किसान हारुन खाँले बताए ।
उनले नरैनापुरमा प्रायः बिद्युत बिग्रने र भोल्टेज पनि निकै कम आउने समस्या रहेकाले किसानलाई खेती गर्न निकै अप्ठ्यारो भएको गुनासो गरे । यस्तै नरैनापुर–५ का स्थानीय विनय दिक्षितले पनि नरैनापुर क्षेत्रमा बिद्युतको समस्या बढ्दै गएको जनाउँदै त्यसबाट किसान र अन्य सर्वसाधारण सबै पीडित रहेको गुनासो गरे ।
बिद्युत समस्या समाधानको माग गर्दै मंगलवार किसानहरुले नेपालगन्ज–नरैनापुर हाइवेलाई जाम गरेका थिए । सो बारेमा नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले नरैनापुरमा अधिकांश ट्रान्सफार्मर हाइवेमा जडान भएको र त्यहाँबाट भित्र टाढा खेतमा लाइन तानिएकाले भोल्टेज कम हुन गएको बताए । ।
सत्यपाटी