हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेश लगातय बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भु–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राती भने कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाड र तराइ साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
‘काठमाडौंमा आज दिउँसो वर्षा हुने सम्भावना छ,’ मौसमविद् सरोज पुडासैनी भन्छन्, ‘हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’ हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ, जसका कारण धेरै स्थानमा वर्षा हुन सकेको छैन । तराईका कतिपय स्थान अझै पनि खडरीमा छन् । ‘आजभन्दा भोलि केही बढी वर्षाको सम्भावना छ । आजभन्दा धेरै स्थानमा भोलि वर्षा हुने देखिन्छ,’ मौसमविद् पुडासैनी भन्छन् ।
उनका अनुसार अहिले मनसुनी वायु केही कमजोर देखिएको छ । ‘आजभन्दा भोलि केही स्ट्रङ हुने देखिन्छ,’ मौसमविद् पुडासैनी भन्छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सत्यपाटी