रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ पिपलचौरस्थित भेरी करिडोर अन्तर्गतको सडकखण्डबाट ठूलीभेरी नदिमा खसेको टिपर फेला परेको छ । टिपरसँगै खसेका तीन जना मान्छे भने अझैसम्म फेला परेका छैनन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार साँझ ठूलीभेरी नदिमा खसेको यति बिल्डर्स प्रालिको टिपर घटना स्थलभन्दा करिब चार सय मिटर तल नदिमै फेला परेको छ । टिपरमा रहेका तीन जनाको अवस्था भने अझैसम्म पत्ता लागेको छैन ।
उनीहरू नदिमै बेपत्ता भएको अनुमान रहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रमेश बिष्टसहितको टोली परिचालन भएको छ । अहिले नदीमा देखिएको टिपर निकाल्नका साथै बेपत्ताहरूको खोजी कार्य भईरहेको छ ।
टिपर जाजरकोट पट्टीको भागमा फेला परेको हो । आठबिसकोट नगरपालिका ११ चिसापानीबाट वडा नम्वर १४ को छेपारेतर्फ आँउदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर ठूलीभेरी नदीमा खस्दा चालक सहित तीन जना बेपत्ता भएका थिए ।
बेपत्ता हुनेमा टिपर चालक दाङका ३५ वर्षीय मनिराम चौधरी, यति विल्डर्सका जेसिबी चालक रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ का धनबिर बिक र हेल्पर रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ का हरि बिक रहेको प्रहरीले जनाएको छ । प्रहरी, यति बिल्डर्सको कर्मचारी टोली, स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।
सत्यपाटी