२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

पाल्पामा सम्बन्धविच्छेद माग्ने पुरूषको संख्या धेरै

सत्यपाटीसत्यपाटी । पाल्पा । २०८२ साउन ७ गते बुधबार

जिल्ला अदालत पाल्पामा सम्बन्धविच्छेद गर्नेको संख्या बढेको छ । गत आर्थिक वर्षमा ४८५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । कूल मुद्दामध्ये ४०४ थान मुद्दा फर्स्यौट भएको जिल्ला अदालत पाल्पाका श्रेष्तेदार केशव पराजुलीले बताए । ८१ थान मुद्दा फर्स्यौट हुन बाँकी रहेका छन् । जसमध्ये ६६ वटा मुद्दा पुरूषले दर्ता गरेका थिए । पुरूषले दिएका अधिकांश मुद्दा पक्षमा फैसला भएका छैनन् । महिला अर्थात् पत्नीलाई प्रतिवादी बनाएर पुरूष अर्थात् पतिले सम्बन्धविच्छेद गर्न माग गर्दै मुद्दा दिनेका संख्या बढेको छ ।

पछिल्लो वर्षमा यस्ता खालका मुद्दा बढेका हुन् । तर दाबीसहितको प्रमाण अपुग हुने गरेको पाइएको छ । केही पक्षमा फैसला भएको छ । पुरूषले दर्ता गरेका अधिकांश मुद्दामा प्रमाण नपुगेको अदालतका तहशीलदार रामप्रसाद पोखरेलले बताए । विपक्षी महिलाले प्रतिउत्तर नलगाएका मुद्दा र दाबी अनुसारका प्रमाण पुगेका केही मुद्दामा मात्रै पुरूषको पक्षमा फैसला भएको पोखरेलले बताए । अधिकांश पुरूषले दिएका मुद्दा पक्षमा फैसला नभएको उनले बताए ।

पछिल्ला वर्षमा बढ्दै सम्बन्धविच्छेद

विगत तीन वर्षका विवरण हेर्दा पाल्पामा सम्बन्धविच्छेदका मुद्दा बढेको देखिन्छ । आर्थिक वर्ष २०७९–०८० मा ४४३ थान मुद्दा दर्ता भएका थिए । जसमध्ये ३७६ मुद्दा फस्र्यौट भए । ८१ थान मुद्दा बाँकी रहेका थिए । आर्थिक वर्ष २०८०–०८१ मा ४२८ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । ३७६ मुद्दा फस्र्यौट हुँदा ५१ मुद्दा बाँकी रहेका थिए । २०८१–०८२ मा ४८५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । जसमध्ये ४०४ मुद्दा टुंगिए ।

८१ थान मुद्दाको फैसला हुन बाँकी छ । विगत वर्षहरूमा भन्दा सम्बन्धविच्छेदका मुद्दा बढेको अदालतका श्रेस्तेदार केशव पराजुलीले बताए । उनका अनुसार वैवाहिक सम्बन्ध अन्त्य गर्नेको संख्या पनि बढेको छ । गतवर्ष वैवाहिक सम्बन्ध अन्त्य गर्नेको संख्या २७ रहेको थियो । २० थान मुद्दाको फैसला भएको छ । ७ थान मुद्दा फैसलाको प्रक्रियामा रहेका श्रेस्तेदार पराजुलीले बताए । दोस्रो विवाह गरेर गएका महिलाले बढी सम्बन्धविच्छेद गरेका छन् ।

सानो उमेरमा विवाह गरेका उमेर पुगेपछि सम्बन्धविच्छेद गर्ने पनि छन् । लहलहैमा विवाह गरेर उमेरले परिपक्व भएसँगै एक आपसमा नमिलेर सम्बन्धविच्छेद गर्न आउनेको संख्या पनि बढी रहेको तहशीलदार रामप्रसाद पोखरेलले बताए । वैदेशिक रोजगार पनि सम्बन्धविच्छेदको कारण रहेको छ । पति वा पत्नी विदेश भएका दम्पतीमा खटपट भएपछि सम्बन्धविच्छेद गर्न आएको उनले बताए । सामाजिक सञ्जालले पनि धेरैको सम्बन्धविच्छेद गराएको छ ।

पाल्पामा मुद्दाका संख्या बढ्दै

पाल्पामा सबै प्रकारका मुद्दाको संख्या बढ्दै गएका छन् । विगत पाँच वर्षको तुलनामा गत आर्थिक वर्षमा मुद्दाका संख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७७–०७८ मा ६३६ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७८–०७९ मा ८८५, आर्थिक वर्ष २०७९–२०८० मा एक हजार १७, आर्थिक वर्ष २०८०–०८१ म एक हजार ३२ र गत आर्थिक वर्ष २०८१–०८२ मा एक हजार ८४ मुद्दा दर्ता भएका श्रेस्तेदार केशव पराजुलीले बताए । घरेलु हिंसाका ५ र बहुविवाहका ९ थान मुद्दा परेका थिए । यस्तै जबरजस्ती करणी १५ र बाल यौन दुर्व्यवहार ३ मुद्दा परेका थिए ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार