२०८३ असार २८ , आइतबार 12, July 2026, Sunday

बेलिब्रिजले सडक सञ्जालसँग जोडियो मुगु र हुम्ला

सत्यपाटीसत्यपाटी । हुम्ला । २०८२ साउन ६ गते मंगलबार

छिमेकी मुगु र हुम्ला जिल्ला औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएका छन् । चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा बेलिब्रिज निर्माणपछि मुगु र हुम्ला सडक सञ्जालसँग जोडिएका हुन् ।

लोती कर्णालीमा बेलिब्रिज निर्माणसँगै अब मुगु र हुम्ला जिल्ला औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएको चङ्खेली गाउँपालिका–४ का स्थानीय सुरेन्द्र शाहीले बताए । बेलिब्रिज निर्माणले अब सिधै मुगु जिल्ला भएर अन्यत्र जान सकिने बाटो खुलेको उनले जनाए ।

यसअघि मुगुको गमगडीदेखि हुम्लाको सलीसल्लासम्म ग्रामीण पहुँच कार्यव्रmमले (र्‍याप थ्री) सडक निर्माण गरेको भए पनि चङ्खेली गाउँपालिकाको लोती कर्णालीमा पुल निर्माण नगरिँदा नदी वारि र पारि बस्नुपर्ने अवस्था थियो ।

नदीको वारिपारि झरेका यात्रु दुवैतिर जान तुइनको सहारा लिनुपर्ने अवस्था थियो । अब बेलिब्रिज सञ्चालनमा आउँदा तुइनसमेत विस्थापित भएको र यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको उनले बताए ।

सात महिनामा लोती कर्णालीमा बेलिब्रिजको निर्माण सम्पन्न भएर प्रयोगमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताए । बेलिब्रिजको निर्माणले हुम्लाबाट पर्यटकीय स्थल रारा जान अब एउटा मात्र गाडी प्रयोग गरे हुने भएको छ ।

यसअघि लोती कर्णाली वारिसम्म एउटा गाडीमा यात्रा गर्नुपर्ने र त्यसपछि तुइन तरेर अर्को गाडी चढेर जानुपर्ने अवस्था थियो । गत मङ्सिर २३ गते कार्यालयले कङ्ग्री निर्माण सेवासँग बेलिब्रिज निर्माणका लागि सम्झौता गरेकोमा निर्धारित मितिमा काम सम्पन्न भएको बताउँदै प्रमुख जैसीले बेलिब्रिज ४२ मिटर लम्बाइको रहेको जानकारी दिए ।

१० मिटर अग्लो रहेको बेलिब्रिजको ३.१५ मिटर चौडाइ छ । बेलिब्रिज निर्माणका लागि चार करोड ९८ लाख रुपैयाँ लागत लागेको छ । यसबाट रहेक वर्ष चङ्खेली गाउँपालिकालाई हिउँदको समयमा लोती कर्णालीमा काठेपुल निर्माण गर्नुपर्ने बाध्यता हटेर आर्थिक रूपमा पनि फाइदा भएको छ भने यात्रुलाई शुल्क तिरेर तुइन तर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको स्थानीय दन्त शाहीले बताए ।

बेलिब्रिजको निर्माणले चङ्खेली गाउँपालिका मात्र नभएर सिङ्गो हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि विकल्पसमेत दिएको उनको भनाइ छ । धेरै अगाडिदेखि लोती कर्णालीमा बेलिब्रिज वा पक्की पुल निर्माणको माग भए पनि हाल आएर यो मागको सम्बोधन समेत भएको छ । यो बेलिब्रिज निर्माण भएर सञ्चालनमा आएपछि अब मुगु हुँदै जुम्लाबाट सुर्खेत जानेका साथै डोल्पा हुँदै देशभर सडक यातायात गर्न सकिने बाटो खुलेको छ ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार