धनुषाको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षिका आफ्नै कर्मक्षेत्रमा मृत फेला परेकी छिन् । धनुषाको मिथिला नगरपालिका–८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा ३४ वर्षीया शिक्षिका विमला कुमारी ध्रोङचिङ मगर बाल विकास कक्षाकोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
गत साउन १ गते बिहान करिब ४ः४५ बजे स्थानीयले विमलालाई कक्षाकोठामा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले अनुसन्धान थालेको थियो । प्रहरीले घटनास्थल नजिकै रहेको विमलाको ज ११ प ७४९२ नम्बरको स्कुटरको डिक्कीबाट एक सुसाइड नोटसमेत फेला पारेको छ । यही सुसाइड नोटले घटनाको रहस्य खोल्दै मिटरब्याजीको कालो कर्तुतलाई सतहमा ल्याइदिएको हो ।
मिटरब्याजीको जालो र मानसिक यातना
प्रहरी अनुसन्धानका अनुसार, विमलाले जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवसँग ऋण लिएकी थिइन् । उनले यादवसँग जम्मा ३ लाख २० हजार रुपैयाँ ऋण लिएको भए तापनि चुक्ता गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, यादवले विमलाबाट लिएको खाली चेकमा ४५ लाख रुपैयाँ भरेर उनलाई निरन्तर मानसिक तनाव दिने, धम्क्याउने र बेइज्जत गर्ने चेतावनी दिँदै आएका थिए ।
परिवारका अनुसार, घटनाको केही दिनअघि असार ३२ गते यादव विमलाको घरमै पुगेर पैसा तिर्न दबाब दिएका थिए । पैसा नदिए चेक बाउन्स गराएर जेल हाल्ने धम्की पनि उनले दिएका थिए । पटक–पटकको मानसिक यातना र सामाजिक बेइज्जतीको डरले विमलाले यस्तो दर्दनाक कदम चालेको हुन सक्ने प्रहरीको अनुमान छ । सुसाइड नोट र अन्य प्रमाणका आधारमा प्रहरीले साउन २ गते नै राजकिशोर यादवलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता, डीएसपी वरुणबहादुर सिंहका अनुसार यादवको घरबाट प्रहरीले विभिन्न व्यक्तिका नाममा रहेका ९ थान सक्कल र प्रतिलिपि तमसुक, २३ थान सक्कलै जग्गाधनी प्रमाणपत्र, विभिन्न बैंक भौचर र चेकलगायत मिटरब्याजसँग सम्बन्धित थुप्रै कागजातहरू बरामद गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको बताएको छ ।
सत्यपाटी