२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

देशभर ७२ प्रतिशत रोपाइँ, सबैभन्दा धेरै सुदूरपश्चिममा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ६ गते मंगलबार

यस वर्ष हालसम्म देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सकिएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार मौसमको प्रतिकूलताले असर देखा नपरे साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा एक लाख ७१ हजार हेक्टरमा रोपाइँ भएको उनले बताए ।

प्रतिशतका हिसाबले यहाँ सबैभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । सूचना अधिकारी जोशीका अनुसार बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा एक लाख पाँच हजार हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा करिब ८४ प्रतिशत धान रोपाइँ भएको थियो ।

मन्त्रालयले आइतबारसम्म सङ्कलन गरेको तथ्याङ्क अनुसार देशका केही भागमा रोपाइँ जारी छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । आव २०८०–०८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो ।

मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ । पछिल्लो पटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ ।

धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल ग्राहस्थ उत्पादनमा एक प्रतिशतले घटबढ हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार