२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

कानुन भन्छ, ‘२० वर्ष नपुगी बिहे गर्न पाइन्न’, तर बालविवाहको अवस्था डरलाग्दो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ५ गते सोमबार

नेपालमा बाल विवाहको दर अझै पनि उच्च रहेको सरकारी तथ्यांकले देखिएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८१ ले नेपालमा अझै पनि बाल विवाहको दर उच्च रहेको देखाएको हो ।

सोमबार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार जनसंख्याको आधारमा ५४ हजारभन्दा बढी बालबालिकाले १८ वर्ष भन्दा कम उमेरमै विवाह गर्ने गरेका छन् ।

यसमध्ये ७ प्रतिशत बालबालिका १० देखि १४ वर्षको उमेरमै विवाह गर्ने गरेका छन् भने २२।३ प्रतिशत बालबालिका १५ देखि १७ वर्षको उमेरमा विवाह गर्दछन् । सूचना अधिकारी चन्दले समग्रमा बाल विवाहको औसत उमेर १६ वर्ष रहेको बताए । उनले बालबालिकाको स्वास्थ्य सम्बन्धी तथ्यांक समेत चिन्ताजनक रहेको बताए ।

उनले पाँच वर्षमुनिका १९ प्रतिशत बालबालिकाको तौल सामान्यभन्दा कम रहेको बताए । उनका अनुसार बाल स्वास्थ्यको अवस्था मधेश प्रदेशमा सबैभन्दा कमजोर रहेको देखाएको छ । जनसंख्याको आधारमा ५४ हजारभन्दा बढी बालबालिकाहरुको १० वर्षमुनि विवाह भएको छ । १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने बालबालिकाहरु सात प्रतिशत रहेका छन् । १५ देखि १७ वर्षमा विवाह गर्नेहरु २२.३ प्रतिशत रहेका छन् ।

समग्रमा अहिले बाल विवाह ३० वर्ष रहेको अवस्था देखिन्छ । जबकी हाम्रो मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । नेपालको सन्दर्भमा पाँच वर्षमुनिका तौल नपुगेका बालबालिका १९ प्रतिशत रहेका छन् । प्रदेशको हिसावमा सबैभन्दा बढी मधेश प्रदेशमा २७ प्रतिशत रहेको छ । सबैभन्दा कम बागमती प्रदेशमा राम्रो अवस्था देखिन्छ ।

नेपालमा उचाई नपुगेको बालबालिका कुल बालबालिकाको २५ प्रतिशत रहेका छन् । अध्ययनले ७९ प्रतिशत बालबालिकाहरु अस्पतालमा जन्मिएको तथा २१ प्रतिशत बालबालिकाहरु घरमा जन्मिन्छन् । यसरी स्वास्थ्य संस्थामा बालबालिकाको जन्म गण्डकी र वागमती प्रदेशमा छन् । सबैभन्दा कम मधेश प्रदेशमा ६७ प्रतिशत रहेका छन् । सूचना अधिकारी चन्दले सरकारले बाल अधिकार संरक्षण र बाल स्वास्थ्यमा सुधार गर्न नीतिगत सुधार गर्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार